सर्लाही । सर्लाही प्रहरीले आज बिहान एक एम्बुलेन्सबाट ठूलो परिमाणको गाँजा बरामद गरेको छ। हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा लैजान तयार पारिएको एम्बुलेन्स नियन्त्रणमा लिँदा ५१ किलो गाँजा भेटिएको जिल्ला प्रहरीले जनाएको छ।
नेपाल रेडक्रस सोसाइटी, रामनगर बहुअर्वाको नाममा दर्ता ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, हरिवनको टोलीले पक्राउ गरेको हो। एम्बुलेन्स चालक, रौतहटको यमुनामाई गाउँपालिका–४ का ३७ वर्षीय सुरेन्द्र राय यादवलाई समेत नियन्त्रणमा लिइएको छ।
यसैबीच, प्रहरीले अर्को छुट्टै अभियानमा लालबन्दी नगरपालिका–११ हिरापुरबाट २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित पक्राउ गरेको जनाएको छ। वाइवालाई सोही नगरपालिका–१४ नारायणखोलाबाट पक्राउ गरिएको हो।