काठमाडौँ — उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर जोखिम पुर्याएको निष्कर्ष निस्केपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालिद्वारा उत्पादन हुने ‘पफ’ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
नियमित बजार अनुगमनका क्रममा संकलित नमुनाको प्रयोगशाला परीक्षण गर्दा पफमा स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’ को मात्रा तोकिएको सीमाभन्दा धेरै रहेको भेटिएपछि विभागले कडा कदम चालेको हो।
ट्रान्स फ्याट मापदण्ड उल्लंघन
खाद्य स्वच्छता तथा गुणस्तर ऐन–२०८१ अनुसार खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याट २ प्रतिशतभन्दा बढी हुन नहुने अनिवार्य व्यवस्था गरिएको छ। तर खजुरीको पफमा सोभन्दा उच्च मात्रा फेला परेपछि विभागले उत्पादनलाई ‘न्यूनस्तरको खाद्य पदार्थ’ ठहर गरेको हो।
ट्रान्स फ्याटको अत्यधिक सेवनले मुटु रोगलगायत अन्य गम्भीर स्वास्थ्य समस्याको जोखिम बढाउने वैज्ञानिक प्रमाण भएकाले यसलाई उच्च संवेदनशील विषय मानिन्छ।
ललितपुरको गोदावरी–१० स्थित उद्योगबाट उत्पादन भएका ब्याच नम्बर B1-3A र B1-5A का पफहरू बजारबाट तुरुन्त उठाउन विभागले निर्देशन दिएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) र (४) बमोजिम खजुरीको नेपाल प्रालिलाई ती उत्पादनहरूको बिक्री–वितरण नगर्न र नगराउन आदेश गरिएको विभागले जनाएको छ।
उपभोक्तालाई सावधानी अपनाउन आग्रह
विभागले उल्लेखित ब्याच नम्बरका पफ उपभोग नगर्न उपभोक्तालाई आग्रह गर्दै स्वास्थ्यमा हानि गर्ने कुनै पनि खाद्य पदार्थमाथि कठोर निगरानी जारी रहने चेतावनी दिएको छ।