भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहारलाई प्रवर्द्धन गर्ने उद्देश्यले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यस वर्षदेखि ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्ने भएको छ। यो कार्यक्रम देशभरमै पहिलो पटक ल्याइएको मन्त्रालयले दाबी गरेको छ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले बढ्दो असुरक्षित यौन सम्बन्ध, असुरक्षित गर्भपतन र यौन रोगको प्रकोप नियन्त्रणका लागि सुरक्षित यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा आजको आवश्यकता भएकोले यो डिजिटल अवधारणा ल्याइएको जानकारी दिए।
के हो ‘किशोर किशोरी डिजिटल पार्क’?
यो एक नमूना कार्यक्रम हो, जसलाई स्थानीय पालिकासँगको समन्वय र साझेदारीमा कार्यान्वयनमा ल्याइनेछ। यसको मुख्य विशेषताहरू यस प्रकार छन्:
-
डिजिटल माध्यमबाट शिक्षा: किशोर किशोरीमा देखिने शारीरिक तथा मानसिक परिवर्तन, रजस्वला स्वच्छता, बाल विवाह, जबरजस्ती करणी, सुरक्षित प्रजनन स्वास्थ्य र यौन दुर्व्यवहारबारे विशेषज्ञको विचार, तथ्य र समाधानसम्बन्धी पोडकास्ट तथा एनिमेटेड भिडियोहरू प्रसारण गरिनेछ।
-
प्रविधिमा पहुँच: किशोर किशोरी जमघट हुने पार्कमा डिजिटल बोर्ड, स्मार्ट टिभी, स्क्रिन र इन्फोग्राफिक्सको प्रयोग गरी जनचेतना जगाइनेछ।
-
संरचना: पार्कभित्र यौन तथा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित डिजिटल जानकारीको सहज पहुँच हुने 'एडल्सेन्ट हेल्थ रूम', 'बाल/बेलसेप कोठा' र डिजिटल डिस्प्ले राखे ठाउँहरू निर्माण गरिनेछ।
-
प्रतिक्रिया प्रणाली: प्रविधिको अधिकतम प्रयोग गर्दै QR कोड सिस्टम मार्फत किशोर किशोरीको प्रतिक्रिया लिइने व्यवस्था मिलाइनेछ।
प्रदेशभरि पहिलो पहल; २५ लाख बजेट विनियोजन
प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले यसलाई देशभरमै पहिलो कार्यक्रमका रूपमा ल्याइएको बताए। बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको मातहतमा सञ्चालन हुने यस कार्यक्रमका लागि मन्त्रालयले रु २५ लाख बजेट विनियोजन गरेको छ। निर्देशनालयका निर्देशक डा. नरेन्द्र झाका अनुसार कार्यक्रम लागू हुने पालिकाको छनोट प्रक्रिया चलिरहेको छ।
सदर चिडियाखाना, त्रिभुवन पार्क, फन पार्क जस्ता किशोर किशोरी बढी जमघट हुने ठाउँलाई प्राथमिकतामा राखेर हेटौडा वा काठमाडौँको कुनै एक पालिकामा यो कार्यक्रम यसै वर्षदेखि सञ्चालन गरिनेछ।