काभ्रेपलाञ्चोक । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अब जिल्लाका आठ स्वास्थ्य संस्थाबाट प्रथम सेवा उपलब्ध हुने भएको छ। आइतबार मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पतालले बीमा सेवा थालनी गरेपछि सेवा दिने अस्पतालहरूको संख्या आठ पुगेको हो।
नयाँ सेवा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले औपचारिक रूपमा उद्घाटन गर्नुभयो। नगरप्रमुख टोकबहादुर वाईबाका अनुसार नगरका ६५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् र सेवालाई प्रभावकारी बनाउन आवश्यक तयारी पूरा गरिएको छ।
यसअघि सुन्थान, खोपासी, पाँचखाल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, बनेपा नगर अस्पताल र मेथिनकोट प्रादेशिक अस्पतालबाट स्वास्थ्य बीमाको सेवा उपलब्ध हुँदै आएको थियो। धुलिखेल नगरले भवन तथा जनशक्ति अभावका कारण रोकिएको बीमा सेवा साउन २६ गतेदेखि धुलिखेल अस्पताल परिसरबाट पुनः सुरु गरेको जनाएको छ।
सरकारले गत साउन १ गतेदेखि सरकारी स्वास्थ्य संस्थालाई नै बीमाको प्रथम सेवा विन्दु बनाउने नियम लागू गरेको थियो। पहिलो चरणमा सूचीकृत चार संस्थामध्ये तीन मात्र सेवामा सक्रिय रहेकामा अब संख्या बढ्दै आठ पुगेको छ।