झापा । जिल्लामा पछिल्ला तीन वर्षयता एचआईभी संक्रमणका कारण मृत्यु हुने संख्या बढ्दै गएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन बीरेन्द्र दासका अनुसार वित्तीय वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र २०८१/८२ मा ३५ जनाको मृत्यु भएको छ।
उपचारमा आउने संक्रमितले औषधि नियमित रूपमा सेवन गरिरहेको भए पनि मृत्युदर बढ्नु चिन्ताजनक रहेको दासले बताए। चालू आवको साउनदेखि कात्तिकसम्म मात्रै २२ जना नयाँ संक्रमित फेला परेका छन्। तीमध्ये ४ जनाले दमक अस्पतालबाट र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी सेवा लिइरहेका छन्।
हाल झापामा नयाँ तथा पुराना गरेर ८०६ जना संक्रमित एआरटीमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये १८ वर्षमुनिका ३० जना बालबालिका छन्। बालबालिकाका लागि स्वास्थ्य कार्यालय झापा र लवकुश आश्रममार्फत मासिक एक–एक हजार रुपैयाँ सहयोग उपलब्ध भइरहेको छ।
अघिल्लो तीन वर्षको तथ्यांक अनुसार २०७९/८० मा ७० नयाँ र ६६३ पुराना, २०८०/८१ मा ७४ नयाँ र ७५० पुराना तथा २०८१/८२ मा ५६ नयाँ र ७८४ पुराना संक्रमित उपचारमा रहेका छन्।