दमौली (तनहुँ) । म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा अब स्थायी रूपमा आँखा उपचार सेवा उपलब्ध हुने भएको छ। स्थानीय तहले पोखरा–घारीपाटनस्थित हिमालय आँखा अस्पतालसँग औपचारिक सम्झौता गरेसँगै पुस ३ गतेदेखि नियमित सेवा सुरु हुने तयारी पूरा भएको छ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले हस्ताक्षर गरेको सम्झौताअनुसार थर्पु अस्पतालमा दैनिक रूपमा प्रशिक्षित नेत्र प्राविधिकमार्फत सेवा प्रदान गरिनेछ। यो सेवाबाट दमौली वा खैरेनीटार गएर आँखा परीक्षण गर्नुपर्ने स्थानीयको वर्षौंदेखिको बाध्यता अन्त्य हुनेछ भन्ने गाउँपालिकाको अपेक्षा छ।
सम्झौता अनुसार,
- आवश्यक प्राविधिक तथा उपकरण हिमालय आँखा अस्पतालले व्यवस्था गर्नेछ।
- सेवा सञ्चालनका लागि गाउँपालिकाले वार्षिक ६ लाख रुपैयाँ उपलब्ध गराउनेछ।
- उपचारबाट संकलित रकम गाउँपालिकाको आन्तरिक आम्दानीमा दाखिला हुनेछ।
सेवा गुणस्तरीय रूपमा सञ्चालन गर्न आँखा उपचार केन्द्र सहयोग समिति गठन गरिने भएको छ।
समितिको संरचना यसप्रकार रहनेछ
संयोजक : थर्पु आधारभूत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष
सह–संयोजक : अध्यक्षले चयन गर्ने एक जना समाजसेवी
सदस्य : म्याग्दे–४ का वडा अध्यक्ष, वडा–७ का वडा अध्यक्ष, हिमालय आँखा अस्पतालका व्यवस्थापक तथा व्यवस्थापकले तोकेको एक प्रतिनिधि, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख
सदस्य–सचिव : थर्पु अस्पतालका प्रमुख
स्थानीयस्तरमै नियमित आँखा सेवा उपलब्ध हुँदा सामान्य परीक्षणदेखि प्राथमिक उपचारसम्मका सेवा गाउँघरमै प्राप्त हुने, र आगामी दिनमा जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।