काठमाडौं । पिसाबको संक्रमण भन्नाले मूत्र प्रणालीमा पिसाब बनाउनेदेखि लिएर पिसाब भण्डारण तथा पिसाब शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने जुनसुकै अंग (मिर्गौला, मूत्रवाहिनी, मूत्रथैली तथा मूत्रनली)मा हुने संक्रमणलाई युटिआई अथात् पिसाबको संक्रमण भनिन्छ ।
नवजात बालिकाको तुलनामा नवजात बालकमा बढी पिसाब संक्रमणको समस्या देखिएको छ । तर, एकदेखि पाँच वर्षसम्मका बालबालिकामा भने बालकको तुलनामा बालिकामा यो समस्या बढी हुने गर्छ । बच्चामा यो समस्या सामान्य छ, तर समयमै नचिह्ने हो भने यो गम्भीर हुन सक्छ । पिसाबको संक्रमण हुने धेरै कारण छन् तर, छोरि बच्चामा भने मलद्वार र मूत्रमार्ग नजिकै भएकोले दिशा सफ गर्ने तरिकाले सजिलै जीवाणु मूत्रप्रणालीमा प्रवेश गर्दछ तसर्थ, पिसाब संक्रमण हुन्छ ।
बच्चामा पिसाबको संक्रमण हुने कारणहरू
- पानी कम पिउनु
- पिसाब लामो समय रोकिराख्ने बानी
- छोरी बच्चामा अगाडि → पछाडि नपुछेर उल्टो पुछ्दा ब्याक्टेरिया युरिनरी ट्र्याक्टसम्म पुग्न सक्छ।
- डायपर लामो समय फेर्न नपुग्नु
- कब्जियत
- कसै–कसैमा जन्मदेखि नै मूत्रनली, किड्नी वा ब्लाडरमा समस्या हुनु
नवजात बच्चामा पिसाबको संक्रमण भएको कसरी थाहा पाउने ?
- ज्वरो आउनु वा तापक्रम असामान्य हुनु
- दूध राम्रोसँग नचुस्ने
- बच्चा अस्वभाविक चिडचिडे देखिनु
- उल्टी हुने
- पिसाबको गन्ध वा रंगमा परिवर्तन
- तौल नबढ्ने वा घट्ने
- बच्चा अत्यधिक सुस्त
नवजातभन्दा माथिका बच्चामा देखिने लक्षणहरू
- पिसाब गर्दा पोल्ने
- पेट दुख्ने
- ज्वरो आउनु
- बारम्बार पिसाब लाग्ने
- बच्चा खेल्न नमान्ने, सधैं सुस्त देखिने
- पहिले बन्द भएको भए पनि फेरि राति ओछ्यान भिजाउने
- खानामा रुचि कम हुनु
- पिसाब रोक्न नसक्ने
- पिसाबको गन्ध तेज वा रंगमा परिवर्तन आउनु
बारम्बार पिसाब संक्रमण हुदाँ भविष्यमा हुन सक्ने जटिलताहरू
- किड्नीमा स्थायी क्षति
- दीर्घकालीन किड्नी रोग
- उच्च रक्तचाप
- पाइलोनेफ्राइटिस
कसरी बचाउने ?
- प्रशस्त पानी तथा झोलिलो खानेकुरामा जोड दिने ।
- बच्चालाई पिसाब रोक्न हुँदैन भनेर सिकाउने ।
- छोरीहरूका लागि : पिसाब वा दिसा गरेपछि अगाडि देखि पछाडि (front to back) सफा गर्न सिकाउनु।
- कब्जियत हुन नदिन फाइबरयुक्त खाना खुवाने।
- डायपर लामो समय नछोड्ने ।
- नुहाउँदा साबुन निजी भागमा नलगाउने ।
- स्कूल जाने बच्चामा बाथरुम रोकिराख्ने बानी हटाउने ।
- पिसाबसम्बन्धी समस्या देखिने बित्तिकै विशेषज्ञलाई देखाउने ।