वीरगञ्ज । संघीय सरकारले २०७७ सालमै पर्साका चार स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने योजना ल्याए पनि अहिलेसम्म पटेर्वासुगौलीमा बनेको १० श्ययाको अस्पतालबाहेक तीनवटा अस्पतालको निर्माण अघि बढ्न सकेको छैन।
ठोरी गाउँपालिकामा १५ श्ययाको अस्पतालको भवन त बनेको छ, तर झ्याल–ढोका, पानीका पाइपदेखि अत्यावश्यक संरचना अधुरै छन्। अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार निर्माण कम्पनीले बजेट अभाव देखाउँदै काम रोकिदिएको छ। दुई करोडभन्दा बढी खर्च अझै आवश्यक पर्ने अनुमान छ।
धोबिनीमा निर्माणाधीन १५ श्ययाको अस्पतालको प्रगति २५ प्रतिशत मात्रै छ भने जिराभवानीमा १० श्ययाको अस्पताल २० प्रतिशतमै रोकिएको छ। यता पटेर्वासुगौलीले निरन्तरको पहलमार्फत अस्पताल पूरा गरी सेवा सञ्चालनमा ल्याइसकेको छ। यहाँ दुई चिकित्सक राख्ने तयारीसमेत छ।
देशभर ६५७ आधारभूत अस्पताल निर्माण योजनामध्ये हालसम्म ८७ वटा मात्रै सकिएका छन्। ४२७ वटा अस्पतालका ठेक्का सम्झौता भइसकेको छ भने २३० पालिकामा जग्गा र स्थान विवादका कारण प्रक्रिया अघि बढेको छैन।
सरकारले यो आर्थिक वर्षभित्र १०६ आधारभूत अस्पताल सम्पन्न गर्ने लक्ष्य राखेको छ। मापदण्डअनुसार निर्माण सम्पन्न अस्पताल सञ्चालन र सेवा व्यवस्थापन स्थानीय सरकारले जिम्मेवारीका साथ सुनिश्चित गर्नुपर्नेछ।