डडेल्धुरा । गन्यापधुरा गाउँपालिका–२ मा निर्माण भइरहेको १० शैय्याको आधारभूत अस्पताल अन्तिम चरणमा पुगेको छ। २०७९ सालमा १४ करोड ७६ लाख रुपैयाँ लागतमा सुरु गरिएको निर्माण चैतभित्र पालिकालाई हस्तान्तरण गर्ने तयारी रहेको अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार तामाङका अनुसार चैतदेखि एमबिबिएस चिकित्सकसहित स्थानीय स्वास्थ्यकर्मी प्रयोग गरी सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ। अस्पताल सञ्चालनमा आएपछि आवश्यकता अनुसार कहिलेकाहीँ विशेषज्ञ सेवा पनि उपलब्ध गराउने योजना छ।
अध्यक्ष कार्कीका अनुसार अस्पताल सञ्चालन भएपछि स्थानीयलाई उपचारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेर नजिकै स्वास्थ्य सेवा पाउने सुविधा हुने छ।