काठमाडौँ । ‘स्वस्थ मन, स्वस्थ जीवन’ र ‘मनको कुरा गरौँ’ भन्ने नारासहित मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले एक विशेष समारोहका बीच तीन महिनासम्म सञ्चालन हुने अभियानको शुभारम्भ गरिन्। यो अभियान चैत ३० (मार्च १४) सम्म चल्नेछ।
अचानक रूपमा सुरु गरिएको अभियानका लागि आवश्यक बजेट र स्रोत अभाव रहेको अधिकारीहरूले बताएका छन्। तर मन्त्री गौतमले मानसिक स्वास्थ्य आफूले मन्त्री बनेयता शीर्ष प्राथमिकतामा राखेको बताउँदै बजेट आवश्यक परे अन्य शीर्षकबाट रकमान्तर गरेरै भए पनि कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरिन्।
“मानसिक स्वास्थ्य अब सरकारको प्रमुख प्राथमिकता”
मन्त्री गौतमका अनुसार शारीरिक स्वास्थ्यका क्षेत्रमा धेरै काम भए पनि मानसिक स्वास्थ्यमा राज्यको लगानी न्यून रहेको छ। पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थितिले प्रत्येक परिवार कुनै न कुनै रूपमा मानसिक दबाबमा रहेको उल्लेख गर्दै उनले समस्याको समाधानका लागि दिगो बजेट, कार्यक्रम र संरचना विकास गरिने जानकारी दिइन्।
युवा, किशोर–किशोरी र वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको मानसिक अवस्था विशेष रूपमा संवेदनशील रहेको भन्दै उनीहरूले सहज रूपमा परामर्श र सहारा पाओस् भन्ने उद्देश्यका साथ अभियान अघि बढाइएको मन्त्रीको भनाइ छ।
सामुदायिक तहसम्म मनोपरामर्श सेवा
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठले मानसिक स्वास्थ्यलाई मेडिकल मात्र होइन, सामुदायिक विषयका रूपमा लिएर घर, विद्यालय, कार्यालय र समुदायमा ‘एक–अर्काको कुरा सुन्ने संस्कार’ विकास गरिने बताए। संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर अभियानलाई प्रभावकारी बनाइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका निकायहरूमा मनोपरामर्शदाताको दरबन्दी न्यून रहेको स्वीकार्दै मन्त्री गौतमले तालिमका माध्यमबाट परामर्श सेवालाई विस्तार गरिने जानकारी दिइन्। गाउँ–गाउँमा परामर्शदाता खटाएर मानसिक स्वास्थ्यबारे जागरण फैलाउने कार्य चलिरहेको पनि बताइयो।
१० मध्ये १ जनामा मानसिक समस्या
विभिन्न अध्ययनअनुसार नेपालमा हरेक १० जनामध्ये १ जनालाई कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ। कार्यक्रमका सहभागी— राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलिया, ईडीसीडी मानसिक स्वास्थ्य शाखा प्रमुख पोमावती थापा, जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानालगायतले मानसिक स्वास्थ्यको अवस्था र सरकारले चालेका कदमबारे प्रस्तुति दिए।
अभियानमा दातृ निकाय र सरोकारवालाको प्रतिबद्धता
मानसिक स्वास्थ्यलाई दातृ निकायहरूले पनि प्राथमिकतामा राखेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले आगामी महिनामा विषयगत कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिए। सरोकारवाला संस्था तथा संघ–संस्थाहरूले अभियानमा सहकार्य र योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अभियान आजबाट औपचारिक रूपमा सुरु भएसँगै देशभर विद्यालय, कार्यस्थल, समुदाय र सञ्चारमाध्यममार्फत मानसिक स्वास्थ्यका सन्देशहरू प्रवाह गरिनेछ।