कास्की। पोखरामा एक सय बेड क्षमता भएको जलन तथा विशेषज्ञ अस्पताल निर्माणका लागि कोरियन सहयोग नियोग (कोइका)ले सम्भाव्यता अध्ययन सुरु गरेको छ। पोखरा–२७ को साविक लेखनाथ नगरपालिका कार्यालयको जमिनमा बन्ने उक्त अस्पतालका लागि मुहोन कोङसहित १७ सदस्यीय कोरियाली टोली पोखरा पुगेको छ।
महानगर प्रमुख धनराज आचार्यका अनुसार बर्न हस्पिटल निर्माण अब सुनिश्चित भएको छ। अस्पताल सञ्चालनमा आएपछि पोखरा र आसपासका बासिन्दाले अत्याधुनिक विशेषज्ञ सेवा पाउनेछन्। फागुन ३ गते बेलुन विस्फोटको घटनापछि पोखरामा बर्न अस्पतालको अत्यावश्यकता औंल्याइएको थियो।
लेखनाथ क्षेत्रमा तीन रोपनीमा वडा कार्यालय र पाँच रोपनीमा विपद् व्यवस्थापन केन्द्रको काम भइकन, बाँकी २८ रोपनी भूमिमा जलन, प्रसूति–स्त्रीरोग, बालरोग, ट्रमा, मिर्गौला लगायतका सेवा समेटिएको विशेष अस्पताल विकास गर्ने योजना महानगरले अघि सारेको छ।