कालीकोट। भौगोलिक रूपले विकट मुम्रा गाउँ विकासका पूर्वाधारमा धिमी गतिमा अघि बढ्दैछ, तर मातृ स्वास्थ्य सेवा को पहुँचमा भने यसले प्रदेशमै उदाहरण प्रस्तुत गरेको छ। सान्नी त्रिवेणी गाउँपालिका–८ स्थित यहाँ पछिल्ला पाँच वर्षयता एकजना गर्भवती र नवजात शिशुको ज्यान नगएको छ। दुई वर्षयता हवाई उद्धार पनि आवश्यक परेको छैन।
जोखिमयुक्त कच्ची सडक र कठिन भौगोलिक बनावटका बीच गाउँपालिकाले मातृ स्वास्थ्यमा गरेका प्रयासलाई अनुकरणीय मानिएको छ। संघीय सरकारको ीक्ष्क्ब् क्ष्लमष्अबतयच मा कालिकोटबाट पहिलो स्थान हासिल गर्नु यसको प्रमाण हो।
गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीका अनुसार घर–घरमा महिला स्वास्थ्य सेविकामार्फत सेवा पुर्याइएको छ। पालिकाभित्र पाँच बर्थिङ सेन्टर सञ्चालनमा छन्, जसमा पुग्न एक घण्टाभन्दा बढी पैदल हिँड्नुपर्दैन। “सुत्केरी सेवामा समस्या आए सिधै मलाई फोन गर्न भन्नेको छु,” अध्यक्ष केसीले बताए।
७१ वर्षीय स्थानीय नाग्मल बुढा भन्छन्, “पहिले बच्चा जंगलमै जन्मिन्थ्यो, घाँस र बच्चा बोक्दै घर ल्याउनुपर्थ्यो। अब त्यो समय छैन।” हालै तेस्रो सन्तान जन्माएकी रचनाकुमारी बुढा भन्छिन्, “सुत्केरी व्यथा लागेपछि स्ट्रेचरमा लैजानुपर्छ, तर स्वास्थ्यकर्मीको व्यवहार राम्रो छ।”
मुम्रा स्वास्थ्य चौकीका प्रमुख धीरेन्द्र केसीका अनुसार यस आवका चार महिनामा ११ सुत्केरी भइसकेका छन्। “गाउँघरमै बच्चा जन्माउने संख्या शून्य छ,” उनी भन्छन्।
स्विस तथा ब्रिटिस रेडक्रसको सहयोगमा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम ले बर्थिङ सेन्टरका सामग्री, शौचालय, पानी सञ्चारदेखि विद्यालयका हरित कार्यक्रमसम्म सहयोग पुर्याउँदै आएको छ। ‘एक घर, एक धारा’ अभियानअन्तर्गत पालिकामा दुई हजारभन्दा बढी धारा जडान भइसकेका छन्। गाउँपालिकाले अब पूर्ण सरसफाइ युक्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ। अध्यक्ष केसी भन्छन्, “सानो सहयोगले ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने प्रमाण हामीले देखाएका छौं।”