स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस–२०२६ को अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १२ डिसेम्बरमा एक प्रेस विज्ञप्ति जारी गर्दै “स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि वित्तीय सुरक्षा” र “सुलभ स्वास्थ्य सेवा हाम्रो चाहना” भन्ने मूल नारासहित सबै नागरिकलाई आर्थिक बोझ बिना गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
मन्त्रालयका अनुसार स्वास्थ्यमा सर्वव्यापी पहुँच (UHC) को अर्थ रोकथामदेखि उपचार, पुनर्स्थापना तथा जीवनको उत्तरार्द्धमा आवश्यक हेरचाहसम्मका सेवा सबै समुदायका मानिसले समान रूपमा पाउनु हो। यसले गरिबीको जोखिम घटाउने, परिवार तथा समुदायको स्वास्थ्यस्तर उकास्ने र जनस्वास्थ्य संकटको जोखिम कम गर्ने उल्लेख गरिएको छ।
संविधान, जनस्वास्थ्य सेवा ऐन तथा नियमावलीअनुसार नेपाल सरकारले प्राथमिक स्वास्थ्य सेवा प्रणालीलाई मजबुत बनाउन निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको मन्त्रालयले जनाएको छ। संघीय संरचना लागू भएपछि सामाजिक–आर्थिक भिन्नता, शैक्षिक स्थिति र स्वास्थ्य आवश्यकताअनुसार राष्ट्रिय स्वास्थ्य नीति पुनर्संरचना गरिएको र सेवा पहुँच तथा उपलब्धतामा समानता बढाउन विशेष ध्यान दिइएको विज्ञप्तिमा उल्लेख छ।
सरकारले स्थानीय तहका सबै स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रलाई बलियो बनाउँदै विपन्न नागरिकलाई जटिल उपचार उपलब्ध गराउने कार्यक्रम, प्रदेशस्तरीय विशेषज्ञ सेवा, दूरदराज क्षेत्रमा टेलिमेडिसिन, र विशेष लक्षित स्वास्थ्य शिविरहरू विस्तार गरिरहेको जनाएको छ।
स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि, सेवा गुणवत्तामा सुधार, माग वृद्धि तथा समतमूलक पहुँच सुनिश्चित गर्न स्वास्थ्य नक्सांकन (Service Mapping), बहुपक्षीय सहकार्य र प्रभावकारी कार्यक्रम व्यवस्थापनमा जोड दिइएको छ।
विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न नेपाल सरकार, स्वास्थ्य प्रतिष्ठान र साझेदार निकायहरू मिलेर सहकार्यका कदमलाई अझ सुदृढ बनाउँदै जानेछ।”