काठमाडौँ । बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएका खोटाङ केपिलासगढी–४ का प्रभिसन राई (२६) का परिवारलाई अस्पतालले आजीवन निःशुल्क उपचार उपलब्ध गराउने भएको छ।
मंगलबार राति सामान्य घाँटी दुखेपछि आफैँ स्कुटर चलाएर अस्पताल पुगेका राईको राति ३ : ५२ बजे मृत्यु भएपछि चिकित्सकीय लापरबाही भएको भन्दै आफन्त आन्दोलित बनेका थिए।
मृत्युपछि राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, परिवारका सदस्य र अस्पताल प्रशासनबीच भएको लामो छलफलपछि सहमति बनेको हो। सम्झौताअनुसार बयोधा अस्पतालले मृतक राईका बाबु–आमा, दिदी र भाइलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउनेछ। साथै शव काठमाडौँदेखि खोटाङसम्म लैजानका लागि अस्पतालले हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय भएको छ।
सम्झौता भएपछि आफन्तले शव बुझेका छन्।
राई मंगलबार राति करिब १२ बज्न लाग्दा आफैले डबल लोड स्कुटर चलाएर अस्पतालको इमेर्जेन्सी पुगेका थिए । राईसँगै अस्पताल पुगेकी हेमा मगरका अनुसार राईलाई सामान्य घाटी दुखेको थियो ।
घाँटी अलि दुख्यो अस्पताल जाउँ भनेर उनले नै स्कुटर चलाएर अस्पतालको इमेर्जेन्सीमा आएका राई केही औषधि नगरि वार्डमा बसालेका थिए । पछि बिरामीको अवस्था जटिल भएर शेकिङ हुन थालेपछि चाहिँ त्यसलाई रोक्ने भन्दै इन्जेक्सनबाट औषधि दिएको मगरले बताए । त्यस पछि यही मंसिर २३ गते उपचारका क्रममा निधन भएको थियो।