बाँके । बाँके जिल्लामा दिनप्रतिदिन चिसो बढ्दै गएको छ। दिनभर घाम लागे पनि बिहान कुहिरो लाग्ने र बिहान–साँझ चिसो बढी महसुस हुन थालेको छ। यसले बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा कमजोर समुदायलाई बढी असर गर्न थालेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार नेपालगन्जको न्यूनतम तापक्रम १०–१२ डिग्री सेल्सियस र अधिकतम २४–२६ डिग्री सेल्सियस मापन गरिएको छ।
हरेक वर्ष जाडो याममा बाँकेमा शीतलहर देखिने भएकाले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहहरूले पूर्वतयारी थालेका छन्। समितिका अनुसार यस वर्ष आठवटै स्थानीय तहमा करिब ३५ हजार ७ सय ८० जना शीतलहरबाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा प्रभाव तुलनात्मक रूपमा कम रहने देखिए पनि खजुरा, बैजनाथ, राप्तीसोनारी, जानकी, डुडुवा र नरैनापुर गाउँपालिकाहरू बढी जोखिममा छन्।
बाँकेमा गर्मी याममा लू र जाडो याममा शीतलहर मुख्य समस्या हुने गरेको छ। जिल्लामा हालसम्म अधिकतम तापक्रम ४६ डिग्री र न्यूनतम ४.२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।