काठमाडौं । चिसो मौसम सुरु भएसँगै स्वास्थ्य संस्थामा बालबालिकामा रुघाखोकी, ज्वरो, झाडापखाला र श्वासप्रश्वासजन्य समस्याका बिरामी बढ्दै गएका छन्। विशेषगरी पाँच वर्षमुनिका बालबालिका चिसो मौसममा बढी जोखिममा पर्ने चिकित्सकहरूले बताएका छन्। चिसोका कारण बालबालिकामा रुघाखोकी र ज्वरोका समस्या बढ्दै गएका छन्। तापक्रम घट्दा भाइरस सक्रिय हुने भएकाले साना बालबालिका बढी प्रभावित हुने चिकित्सकहरू बताउँछन्।
नर्सिङ विशेषज्ञ सुरक्षा सुवेदीका अनुसार अधिकांश बालबालिकामा देखिने रुघाखोकी र ज्वरो भाइरल संक्रमणका कारण हुने गर्छ। भाइरल फिभरमा एन्टिबायोटिकले काम नगर्ने भएकाले अभिभावकले ज्वरो आउँदैमा आफैं औषधि खुवाउनु गलत हुने उनी बताउँछिन्। “भाइरसको उपचार आराम, न्यानो, झोलिलो खाना र घरेलु विधिबाट सम्भव हुन्छ,” उनले भनिन्।
चिसो मौसममा बालबालिकामा रुघाखोकीसँगै निमोनिया, दम (ब्रोन्काइटिस) र विन्टर झाडापखालाको जोखिम पनि बढ्ने गरेको छ। सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार गर्ने, लामो समय ज्वरो नघट्ने, बच्चा अत्यधिक सुस्त हुने, बान्ता वा पिसाब कम हुने लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजान चिकित्सकको सुझाव छ।
घाखोकी र ज्वरो प्रायः भाइरल संक्रमणका कारण हुने गर्छ। यसका लक्षणमा नाकबाट पानी बग्ने, घाँटी दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, शरीर गल्ने तथा भोक नलाग्ने देखिन्छ। धेरैजसो अवस्थामा सामान्य उपचार र आरामले ३–५ दिनमै निको हुने गर्छ। तर ज्वरो लामो समयसम्म नघट्ने, सास फेर्न गाह्रो हुने, बच्चा अत्यधिक सुस्त देखिने, बारम्बार बान्ता हुने वा दूध/खाना नखाने अवस्था देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजान चिकित्सकको सुझाव छ।
विशेषज्ञहरूका अनुसार चिसो र सुख्खा मौसम, प्रदूषण र सरसफाइमा कमी हुँदा भाइरस लामो समय सक्रिय रहने भएकाले समस्या बढ्छ। बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरू छिटो संक्रमित हुने गर्छन्।
बालबालिकालाई जोगाउन न्यानो कपडा लगाइदिने, भीडभाडमा नलैजाने, तातोपानी, अदुवा, बेसार, तुलसी र महजस्ता घरेलु उपाय अपनाउने, पोषिलो खाना खुवाउने र पर्याप्त आराम गराउन आवश्यक छ। साथै, समयमै सबै खोप लगाउनुपर्नेमा चिकित्सकहरूले जोड दिएका छन्।
चिसो मौसममा बालबालिकालाई जोगाउने सुझाव
बालबालिकालाई ६ महिनासम्म केवल आमाको दूध खुवाउँदा धेरै रोगबाट जोगाउन सकिन्छ। आमाको दूधमा रोगसँग लड्न सहयोग गर्ने पौष्टिक तत्व पर्याप्त हुन्छ। ६ महिनापछि विस्तारै अन्य खानेकुरा खुवाउन सकिन्छ। बच्चालाई न्यायो बनाएर राख्नु आवश्यक छ; धेरै जना एकै ठाउँमा गुम्सिएर बस्ने, आगो ताप्ने वा हिटर बाल्ने चलन नगर्नु राम्रो हुन्छ।
नेपाल सरकारले १५ महिनासम्मका बालबालिकालाई १३ प्रकारका खोप उपलब्ध गराएको छ, जसले निमोनिया र रुघाखोकी कम गर्न सहयोग गर्छ। झाडापखाला कम गर्न दुई–तीन वर्षदेखि रोटा भाइरसको खोप पनि दिइरहेको छ। समयमै सबै खोप लगाउनाले बालबालिकालाई धेरै रोगबाट जोगाउन सकिन्छ। छुटेका खोपहरू भएमा ५ वर्षसम्म जुनसुकै बेला लगाउन सकिन्छ।
स्वास्थ्यकर्मीहरूले चिसो मौसममा अभिभावकलाई सचेत रहन, आफैं औषधि नखुवाउन र समस्या जटिल देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।