चितवन । जाडो मौसम सुरु भएसँगै चितवनका अस्पतालमा डेङ्गी र स्क्रब टाइफसका बिरामीको संख्या घट्दै गएको छ। गत वर्षको तुलनामा यस वर्ष मङ्सिर महिनामा दुवै रोगको सङ्क्रमण उल्लेख्य रूपमा कम देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार गत वर्ष मङ्सिरमा ११३ जनामा डेङ्गी देखिएकामा यस वर्ष १२ जनामा मात्रै सङ्क्रमण पुष्टि भएको छ। चालु आर्थिक वर्षमा हालसम्म ५ हजार ९२३ जनाको परीक्षण गर्दा १७४ जनामा डेङ्गी देखिएको कार्यालय प्रमुख निर्मल घिमिरेले जानकारी दिए।
उनका अनुसार पुस लागेसँगै चिसो बढ्ने भएकाले डेङ्गीको सङ्क्रमण अझै घट्दै जाने अपेक्षा गरिएको छ। डेङ्गी मुख्यतः सहरी क्षेत्रमा एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।