काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा। सुधा शर्माले स्वास्थ्य क्षेत्रको दिगो सुधारका लागि महिला शिक्षामा जोड दिनुपर्ने बताए। देशकै पहिलो छात्रा विद्यालय कन्या मन्दिर माविको ७९औँ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रममा उनले महिला शिक्षाविना परिवार, समाज र देशको प्रगति सम्भव नभएको उल्लेख गरे।
कन्या मन्दिर माविले महिलालाई सशक्त बनाउन ऐतिहासिक भूमिका खेलेको स्मरण गर्दै मन्त्री डा। शर्माले आफू पनि यही विद्यालयकी विद्यार्थी भएकोमा गर्व व्यक्त गरे। उनले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीका लागि पाँच लाख रुपैयाँ सहयोगसमेत घोषणा गरे।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन मानन्धरले गुणस्तरीय शिक्षाका कारण शतप्रतिशत नतिजा हासिल भएको बताए। प्रधानाध्यापक घनश्याम न्यौपानेले सामूहिक प्रयासबाट विद्यालयलाई देशकै उत्कृष्टमध्ये एक बनाउन सफल भएको जानकारी दिए।
हाल कन्या मन्दिर माविमा एक हजार २०० छात्रा अध्ययनरत छन्। गत एसइईमा सबै विद्यार्थी उत्तीर्ण हुनुका साथै एक विद्यार्थीले चार जिपिए हासिल गरेको विद्यालयले जनाएको छ।