कैलाली । कैलालीमा परिवार व्यवस्थापन सेवा अन्तर्गत सञ्चालन गरिएको बृहत् स्वास्थ्य शिविरबाट २११ जनाले स्थायी बन्ध्याकरण सेवा लिएका छन्। चालु आर्थिक वर्षमा स्वास्थ्य कार्यालयले सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा जिल्लाका १० स्थानमा घुम्ती शिविर सञ्चालन गरेको हो।
शिविरमार्फत १९३ महिला र १८ पुरुषले मिनील्याप र भ्यासेक्टोमी सेवा लिएको परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईँले जानकारी दिए। महिलाको तुलनामा पुरुषको सहभागिता कम देखिएको भन्दै स्वास्थ्य कार्यालयले भ्रमकै कारण पुरुष बन्ध्याकरणमा हिच्किचाहट रहेको जनाएको छ।
स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवरका अनुसार स्थायी बन्ध्याकरणपछि काम गर्न गाह्रो हुन्छ भन्ने गलत धारणा अझै विद्यमान छ। मन्त्रालय र स्वास्थ्य कार्यालयले पालिकासँग समन्वय गरी घरदैलो र पायक पर्ने स्थानमै परिवार व्यवस्थापन सेवा विस्तार गर्दै आएका छन्।