नेपालगञ्ज । अटिजम भएका बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासका लागि नियमित दिनचर्या, अभिभावकको सक्रिय सहभागिता र सकारात्मक वातावरण अत्यन्त आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
नेपालगञ्ज स्विमिङ क्लबले आकार फाउन्डेसन मोरङको सहयोगमा र लायन्स क्लब अफ नेपालगञ्ज पीएनएलएफ तथा यूथसँगको सहकार्यमा दुई दिने सीप विकास तालिम आयोजना गरेको हो। तालिमका सहजकर्ता मनोविद् प्रिसिमा थापाले अटिजम भएका बालबालिकालाई प्रोत्साहन र माया देखाएर व्यवहार सुधार गर्न अभिभावकले समय दिनु जरूरी भएको बताए।
भेरी अस्पतालका डा। बद्री चापागाईँले ग्याजेटमा निर्भरता घटाएर बालबालिकासँग समय बिताउनुपर्ने र व्यस्त जीवनशैलीले समस्या बढाउन सक्ने चेतावनी दिए। तालिममा बाँकेको नेपालगञ्ज र कोहलपुर क्षेत्रका करिब ५० अभिभावक, हेरचाहकर्ता र अटिजम भएका व्यक्तिहरू सहभागी थिए।