विराटनगर । कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या अपेक्षाअनुसार बढ्न सकेको छैन। पछिल्ला तीन आर्थिक वर्षमा प्रदेशभर ४८ हजार ८२२ महिलाले मात्र सुरक्षित गर्भपतन सेवा लिएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क छ, जुन १४ जिल्लाको जनसङ्ख्याका हिसाबले कम मानिन्छ।
स्वास्थ्यकर्मीहरूका अनुसार निःशुल्क सेवा उपलब्ध भए पनि जानकारीको अभाव, सामाजिक डर र लाजका कारण धेरै महिला अझै जोखिमपूर्ण र अवैध गर्भपतनतर्फ धकेलिएका छन्। तर सरकारी स्वास्थ्य संस्थामा सेवा विस्तार, स्वास्थ्यकर्मीको तालिम र गोपनीयता सुनिश्चित भएपछि पछिल्ला वर्षमा महिलाको विश्वास बढ्दै गएको देखिन्छ।
तथ्याङ्कअनुसार २० वर्षमाथिका महिलाले सुरक्षित गर्भपतन सेवा बढी उपयोग गरेका छन् भने किशोरी तथा युवा महिलामा पनि सुरक्षित विधितर्फ आकर्षण बढ्दो छ। यद्यपि सुनसरी, झापा र मोरङमा सेवा पहुँच राम्रो भए पनि दुर्गम पहाडी जिल्लामा पहुँच अझै चुनौतीपूर्ण रहेको विज्ञहरू बताउँछन्।
स्वास्थ्य क्षेत्रका जानकारहरू सुरक्षित गर्भपतनसँगै यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, गर्भनिरोधक साधनको सहज पहुँच र सामाजिक सोच परिवर्तन अपरिहार्य रहेकोमा जोड दिन्छन्।