चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार गत साउनदेखि हालसम्म १७ जना सङ्क्रमित अस्पताल पुगेका थिए, जसमध्ये छ जनाले ज्यान गुमाएका हुन्।
मृत्यु हुनेमा भरतपुर, खैरहनी, राप्ती र कालिका नगरपालिकाका बासिन्दा रहेका छन्। सङ्क्रमितमध्ये अधिकांश वृद्ध उमेरका छन् भने १५ जनाले खोप नलगाएको पाइएको छ। कुल सङ्क्रमितमध्ये १० जना महिला र सात जना पुरुष छन्।
स्वास्थ्यकर्मीहरूका अनुसार जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। साँझ र बिहान सक्रिय रहने यो लामखुट्टे धानखेती तथा पशुपन्छी नजिक बढी पाइने भएकाले सावधानी अपनाउन र खोप लगाउन आग्रह गरिएको छ।