काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालन गरिएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गरिएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप, दम–खोकी र मधुमेहजस्ता दीर्घ रोग देखिएको छ ।
नेपाल हार्ट फाउन्डेसन, पाटन रोटरी क्लब, मेडिकेयर अस्पताल तथा चेपेल फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न शिविरमा करिब ५०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गरिएका बिरामीमध्ये झण्डै ७० प्रतिशतमा उच्च रक्तचाप, ५० प्रतिशतमा दम–खोकी, ३० प्रतिशतमा मटुरोग, १५ प्रतिशतमा मधुमेह तथा १५ प्रतिशतमा मुटुरोगको समस्या देखिएको वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा।डा। प्रकाशराज रेग्मीले जानकारी दिए ।
त्यसैगरी शिविरमा परीक्षण गरिएकामध्ये आठ प्रतिशतमा जन्मजात मुटुरोग र पाँच प्रतिशतमा बाथ मुटुरोगको समस्या देखिएको उनले बताए ।
शिविरअन्तर्गत १५ वटा विद्यालयका करिब दुई हजार पाँच सय बालबालिकाको स्वास्थ्य परीक्षण गरिएकोमा २० जनामा मुटुरोगको समस्या फेला परेको छ । तीमध्ये चार जनाको तत्काल शल्यक्रिया आवश्यक रहेको चिकित्सकहरूको निष्कर्ष छ । शिविरमा इको र इसिजी परीक्षण सेवा उपलब्ध गराइएको थियो भने लोमस फार्माबाट सहयोगस्वरूप उपलब्ध गराइएको करिब पाँच लाख रुपैयाँ बराबरका औषधि निःशुल्क वितरण गरिएको थियो ।
स्वास्थ्य शिविरमा डा। उर्मिला शाक्य, डा। प्रेमराज वैद्य, डा। अजय अधिकारी र डा। एञ्जिला वैद्यले स्वास्थ्य परीक्षण सेवा प्रदान गरे ।