रौतहट । आज बिहानैदेखि सुरु भएको बाक्लो हुस्सु र शीतलहरका कारण रौतहटसहित मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ। अत्यधिक चिसो, कुहिरो र शीतलहरले सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ भने यातायात र दैनिक गतिविधिमा समेत प्रत्यक्ष असर परेको छ।
शुक्रवार बिहानैदेखि आकाश ढाकिने गरी लागेको बाक्लो हुस्सुका कारण दृश्यता अत्यन्तै कम भएको छ। यसका कारण मानिसहरू घरबाहिर निस्कन सकिरहेका छैनन्। चिसो बढेसँगै वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगीहरू बढी प्रभावित भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको विभिन्न खण्डमा बाक्लो कुहिरो लाग्दा सवारी आवागमनसमेत प्रभावित बनेको छ। कतिपय स्थानमा सवारी साधनहरू बिस्तारै चलाउनुपर्ने अवस्था आएको छ। शीतलहर र हुस्सुको असर विशेषगरी दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्ने निम्न आय वर्गका नागरिकमा परेको छ। चिसोका कारण काममा निस्कन नसक्दा उनीहरूको आम्दानीमा प्रत्यक्ष असर पुगेको छ।
वृन्दावन नगरपालिका–२ का स्थानीय बासिन्दा बिगु पटेलले चिसोका कारण मजदुरी गर्न जान कठिन भएको बताए। उनले भने , “बिहानैदेखि यति धेरै चिसो हुन्छ कि काममा जान सकिँदैन, काम नगर्दा घर खर्च चलाउन गाह्रो भएको छ।”
यता चिसोबाट जोगिन वृन्दावन नगरपालिकाले सर्वसाधारणलाई न्यानो लुगा लगाउन, आगो तथा ताप साधन सुरक्षित रूपमा प्रयोग गर्न र अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको छ। नगरप्रमुख विनोदप्रसाद कुर्मीले चिसोबाट विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामीलाई जोगाउन सबैलाई सचेत रहन अनुरोध गरे।