नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा चिकित्सकले मृत घोषणा गरेको नवजात शिशु केही घण्टापछि जीवित फेला परेको घटनाले अस्पताल प्रशासनलाई माफी माग्न बाध्य बनाएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा सञ्चार र परामर्शमा भएको कमजोरी सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
विज्ञप्तिमार्फत अस्पताल प्रशासनले उक्त घटनाका कारण शिशुका परिवारजनले भोग्नुपरेको गहिरो मानसिक पीडाप्रति सहानुभूति व्यक्त गरेको छ। साथै, घटनालाई गम्भीर रूपमा लिँदै भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिन थप सतर्कता अपनाउने प्रतिबद्धता जनाएको छ।
अस्पतालका अनुसार मिति २०८२/०८/२५ गते पेट दुखाइ भएपछि एक गर्भवती महिला भेरी अस्पतालको लेबर कक्षमा भर्ना भएकी थिइन्। मिति २०८२/०८/२८ गते गर्भ खसेपछि जन्मिएको बच्चामा मुटुको चाल र श्वासप्रश्वासजस्ता कुनै पनि जीवनका संकेत नदेखिएको भन्दै जिवित नरहेको जानकारी गराई नवजात शिशु बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको थियो।
तर शिशुलाई हस्तान्तरण गरेको करिब चार घण्टापछि बच्चामा जीवनका संकेत देखिएपछि परिवारजनले पुनः अस्पतालमा ल्याई भर्ना गराएका थिए। उपचारकै क्रममा मिति २०८२/०८/२९ गते उक्त नवजात शिशुको पुनः मृत्यु भएको अस्पतालले जनाएको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार गर्भवती महिला अस्पताल आउँदा पाठेघरको पानीको फोका फुटिसकेको (Membrane Rupture) अवस्था थियो। गर्भ अवधि २३ हप्ता मात्र पुगेको, भिडियो एक्सरेमा शिशुको तौल ६१७ ग्राम देखिएको, मुटुको चाल कमजोर रहेको, आमालाई ज्वरो र रगतमा संक्रमणका लक्षण देखिएकाले गर्भावस्थालाई निरन्तरता दिन नसकिने अवस्था (Inevitable Abortion) रहेको अस्पतालको भनाइ छ। आमाको जीवन जोगाउन चिकित्सक टोलीले अधिकतम प्रयास गरेको पनि अस्पतालले दाबी गरेको छ।
अस्पतालले जन्मको समयमा शिशुमा कुनै पनि जीवनका संकेत नदेखिएको, गर्भ अवधि २८ हप्ताभन्दा कम (Pre-term) र तौल एक हजार ग्रामभन्दा कम (Extreme Low Birth Weight) भएकाले शिशुलाई जिवित तुल्याउने सम्भावना न्यून रहेको जनाउँदै त्यसपछि परिवारजनलाई हस्तान्तरण गरिएको स्पष्ट पारेको छ। तर करिब चार घण्टापछि दुर्लभ रूपमा देखिने ‘सस्पेन्डेड एनिमेसन’ र ‘लाजारस फिनोमेनन’ का कारण शिशुमा ढिलोगरी जीवनका संकेत देखिएको अस्पतालको व्याख्या छ।
यद्यपि, सम्भावित परिणामबारे बिरामीका आफन्तसँग पर्याप्त रूपमा सञ्चार र परामर्श गर्न नसकिएको कमजोरी अस्पतालले स्वीकार गरेको छ। भविष्यमा यस्ता घटनामा सञ्चार र परामर्श प्रणालीलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
घटनाको विवरणअनुसार मंसिर २५ गते लेबर कक्षमा भर्ना भएकी ती गर्भवती महिलाले मंसिर २८ गते ६१७ ग्राम तौलको नवजात शिशुलाई जन्म दिएकी थिइन्। जन्मेको भोलिपल्ट मंसिर २९ गते चिकित्सकले शिशुको मृत्यु भएको घोषणा गर्दै ‘शव’ परिवारजनलाई जिम्मा दिएका थिए। तर गाड्न लैजाँदै गर्दा करिब चार घण्टापछि शिशुमा जीवित रहेको संकेत देखिएपछि परिवारजन हतारिँदै पुनः अस्पताल पुगेका थिए। दुर्भाग्यवश, केही समयमै शिशुको पुनः मृत्यु भएको थियो।
अस्पताल प्रशासनले यो घटनालाई ‘अपवाद’का रूपमा व्याख्या गरे पनि यसले अस्पतालको सेवा प्रणाली, चिकित्सकीय सतर्कता र बिरामीका परिवारजनसँग गरिने संवेदनशील संवादको गम्भीर आवश्यकता स्पष्ट रूपमा उजागर गरेको छ। घटनाले सार्वजनिक रूपमा चर्को आलोचना जन्माएको छ भने निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको मागसमेत उठ्न थालेको छ।