काठमाडौँ। आयोडिनयुक्त नुनको सर्वसुलभ पहुँच विस्तारसँगै नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ। विगतमा आयोडिनको कमीका कारण पहाडी तथा हिमाली भेगमा गलगाँड सामान्य रोगका रूपमा देखिन्थ्यो । घाँटीमा डल्लो हुनु अस्वाभाविक मानिँदैनथ्यो । तर सरकारद्वारा सञ्चालित कण्ठरोग निवारण कार्यक्रमले यो अवस्थालाई पूर्णतः परिवर्तन गरेको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनअनुसार आयोडिनयुक्त नुनको पहुँच झण्डै शतप्रतिशत पुगेपछि गलगाँडको समस्या शून्यमा झरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा साल्ट ट्रेडिङ कर्पोरेशनले दुर्गम क्षेत्रसम्म नुनको नियमित आपूर्ति गर्दै आएको छ। यसले ग्रामीण भान्सासम्म आयोडिनयुक्त नुन पुर्याउन महत्वपूर्ण भूमिका खेलेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आयोडिनको पर्याप्त सेवनले गलगाँड मात्र होइन, थाइराइड, मानसिक तथा शारीरिक विकाससम्बन्धी समस्या पनि घट्दै गएका छन्। स्थानीय तह, विद्यालय र स्वास्थ्य संस्थाबाट बढेको सचेतनाले ढिके नुनको प्रयोग लगभग अन्त्य भएको छ। सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ अभियानमार्फत आयोडिनयुक्त नुनको निरन्तर प्रयोग गर्न आग्रह गर्दै आएको छ।