नवलपरासी । नवलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा सुविधा सम्पन्न नगर अस्पताल भवन निर्माण सम्पन्न भएको छ। चोरमारामा निर्माण गरिएको १५ शय्याको नगर अस्पताल भवन आइतबार उद्घाटन गरिएको हो।
बिसं २०७९ मङ्सिरमा शिलान्यास गरी सुरु गरिएको भवन तीन वर्षको अवधिमा सम्पन्न भएको नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिए। चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै ४२ कोठा सहितको दुई तले आधुनिक अस्पताल भवन निर्माण गरिएको उनले बताए।
नवनिर्मित भवनमा बहिरङ्ग सेवा, प्रयोगशाला, अपरेशन थियटर, फार्मेसी, अन्तरङ्ग विभाग, प्रशासनिक सेवा र चिकित्सक आवास कक्षको व्यवस्था गरिएको छ। अस्पताल सञ्चालनमा आएपछि स्वास्थ्य सेवा प्रवाह अझ सहज र प्रभावकारी बनेको नगरपालिकाले जनाएको छ।
अस्पतालबाट मध्यविन्दु नगरपालिकासहित विनयी त्रिवेणी, हुप्सेकोट र पूर्वी पाल्पाका बासिन्दाले पनि सेवा लिन सक्नेछन्। यसै महिनादेखि एमडिजिपी सेवासहित दैनिक एक जना विशेषज्ञमार्फत सेवा प्रदान गर्ने व्यवस्था गरिएको नगर प्रमुख अधिकारीले बताउनुभयो। बालरोग, हाडजोर्नी, फिजियोथेरापी तथा आँखा उपचार सेवा सुरु गरिएको छ, जसमा शल्यक्रियासमेत हुने जनाइएको छ।
अस्पताल प्रमुख अमरेशचन्द्र साहका अनुसार हाल दैनिक करिब ३०० जना बिरामीले सेवा लिइरहेका छन्। पूर्व–पश्चिम राजमार्ग नजिकै रहेकाले दुर्घटनाका घाइतेलाई समयमै उपचार दिन अस्पतालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।