काठमाडौँ । संयुक्त राष्ट्रसंघद्वारा घोषित विश्व ध्यान दिवस नेपालमा पनि दोस्रो पटक भव्य रूपमा मनाइएको छ। हरेक वर्ष डिसेम्बर २१ मा मनाइने विश्व ध्यान दिवसको अवसरमा आर्ट अफ लिभिङ नेपालले देशव्यापी रूपमा सप्ताहव्यापी ध्यान कार्यक्रम आयोजना गरेको हो।
आर्ट अफ लिभिङ नेपालका महासचिव प्रभुराज वैद्यका अनुसार मुलुकभर विभिन्न स्थानमा सञ्चालन गरिएका ध्यान कार्यक्रमहरूमा ५० हजारभन्दा बढी व्यक्तिको सहभागिता रहेको छ। यसले मानसिक स्वास्थ्य, आन्तरिक शान्ति र सामाजिक सद्भावतर्फ जनस्तरमा बढ्दो प्रतिबद्धता झल्काएको उनले बताए।
विश्व ध्यान दिवसअघि एक सातासम्म सञ्चालन गरिएको ‘७ दिने निर्देशित ध्यान यात्रा’ मा एक हजारभन्दा बढी सहभागीले निरन्तर अभ्यास गर्दै कार्यक्रम सफलतापूर्वक पूरा गरेका छन्। विद्यालय, कलेज, शैक्षिक संस्था, सरकारी तथा निजी कार्यालय, प्रहरी र नेपाली सेनाका इकाइहरू तथा सामुदायिक केन्द्रहरूमा ध्यान सत्र सञ्चालन गरिएको थियो।
आर्ट अफ लिभिङको मुख्य पहिचानकै रूपमा रहेको ध्यान अभ्यासलाई विश्वस्तरमा स्थापित गर्न संस्थाले महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ। संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा घोषणा गर्नमा पनि आर्ट अफ लिभिङको पहल महत्वपूर्ण रहेको बताइन्छ।
राष्ट्रियस्तरको मुख्य कार्यक्रम काठमाडौँको शंखमूलस्थित आर्ट अफ लिभिङ केन्द्रमा सम्पन्न भएको थियो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा। सुधा शर्मा गौतम प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रम उद्घाटन गर्दै मन्त्री शर्माले बढ्दो तनाव, चिन्ता र अवसादका कारण मानसिक स्वास्थ्य समस्या विश्वव्यापी रूपमा बढिरहेको उल्लेख गरे।
“ध्यान मानसिक स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको अभ्यास हो। यसले मानसिक सन्तुलन र आन्तरिक शान्ति बलियो बनाउँछ,” मन्त्री शर्माले भने। उनले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न अंगका रूपमा बुझ्नुपर्ने आवश्यकता औँल्याउँदै सरकारले मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न नीति तथा कार्यक्रममार्फत प्राथमिकता दिँदै आएको जानकारी दिए।
कार्यक्रममा आर्ट अफ लिभिङ नेपालका अध्यक्ष शिद्धेश्वरकुमार सिंह र महासचिव प्रभुराज वैद्यले पूर्वीय दर्शन, योग र ध्यानको महत्वबारे धारणा राख्नुभएको थियो। देशभर सञ्चालन भएका ध्यान सत्रहरू आर्ट अफ लिभिङका प्रशिक्षित शिक्षकहरूद्वारा सहजीकरण गरिएको आयोजकले जनाएको छ।
आर्ट अफ लिभिङ नेपालका अनुसार दोस्रो विश्व ध्यान दिवसको व्यापक सहभागिताले नेपालमा शान्ति, सद्भाव र समग्र कल्याणप्रति बढ्दो चासो र प्रतिबद्धता स्पष्ट रूपमा देखाएको छ।