फोक्सोको क्यान्सर भनेको फोक्सोका कोषिकाहरू असामान्य रूपमा बढ्न थाल्दा हुने गम्भीर रोग हो। यो क्यान्सर फोक्सोबाटै सुरु हुन्छ र समयमै उपचार नगरे शरीरका अन्य अंगहरूमा पनि फैलिन सक्छ। फोक्सोको क्यान्सर संसारभर नै पुरुषहरुलाई हुने क्यान्सर मध्य सबैभन्दा पहिलो स्थानमा ओगटिएको क्यान्सर हो। फोक्सोबाट सुरु हुने क्यान्सर मुख्यतः दुई किसिमका हुन्छन्। ‘स्मल सेल’ र ‘नन स्मल सेल’ । नन स्मल सेललाई पनि ‘स्क्वामस सेल क्यान्सर’, ‘एडेनोकार्सिनोमा’ र ‘लार्ज सेल कार्सिनोमा’मा पुनःवर्गीकरण गरिएको छ।
किन पुरुषमा बढी देखिन्छ ?
पुरुषमा बढी देखिनुको कुनै ठेट कारण नभए पनि सर्वेक्षण गर्दा डाटाहरुमा के देखिएको छ भने संसारभरी नै महिला भन्दा पुरुषले धुम्रपान बढी सेवन गर्ने,रासायनिक कारखानामा पुरुषहरु बढी काम गर्ने भएको हुनाले पुरुषहरुमा फोक्सोको क्यान्सर बढी पाईएको हो।
फोक्सोको क्यान्सर लाग्ने कारण ?
फोक्सोको क्यान्सरको मुख्य कारण धूमपान हो। धूमपान गर्ने व्यक्तिमा यो क्यान्सर हुने जोखिम करिब ६० प्रतिशत बढी हुन्छ। साथै मदिरा सेवन, अस्वस्थ जीवनशैली, प्रदूषित कार्य वातावरण, धुवाँ–धुलो तथा रासायनिक पदार्थको सम्पर्कले पनि जोखिम बढाउँछ। वंशानुगत रूपमा सिधै नसर्ने भए पनि परिवारमा क्यान्सरको इतिहास भए जोखिम बढ्न सक्छ।
धुम्रपान, मध्यपान नगर्ने मानिसहरुलाई फोक्सोको क्यान्सर लाग्ने सम्भावना १५-२०% हुने गर्दछ।
उमेर समुह कस्तो रहेको छ?
प्राय: क्यान्सरका बिरामीहरुहरुको उमेर समुह ४० देखी माथिको पाईएको छ त्यस्तै फोक्सोको क्यान्सरमा पनि उमेर समुह ४० देखी माथि ६०-७० बर्षको मानिसहरुमा बढी देखिएको छ।
यसको लक्षणहरू के कस्त्तो रहेको छ?
फोक्सोको क्यान्सरले शुरुको अवस्थामा विरलै मात्र आफ्नो लक्षण देखाउँछ । जब लक्षण देखिन्छ तब क्यान्सर अरु जटिल अवस्थामा पुगिसकेको हुन्छ । त्यसैले लक्षण देखिनासाथ डाक्टरको सल्लाह लिई हाल्नु जरुरी हुन्छ । फोक्सोको क्यान्सरका केही लक्षणहरु यस प्रकार छन्:
- लामो समय देखि स्थायी रुप मा खोकी रहनु
- सास फेर्दा असजीलो वा खर्खराहट हुनु
- खोक्दा खकार मा रगत देखिनु
- छाती दुख्नु : बोधो, कडा र घोचे जस्तो
- आवाजमा धोद्रोपन आउनु
- थकान हुनु
- तौल मा गिरावट आउनु
- औंला का टुप्पाहरु सुन्निए जस्ता र कडा हुनु
जब क्यान्सर को प्रकोप बढ्दै जान्छ र यो फोक्सो बाहेक अन्य अंगहरु मा पनि फैलँदै जान्छ तब देखिने लक्षणहरु–
- काँध दुख्नु, पाखुरा वा घाँटी दुख्नु
- हाड दुख्नु
- आँखाका परेला गरुंगा हुनु, दृष्टि धमिलो हुनु
- हातका मांसपेशी कमजोर हुनु
- अनुहार सुन्निनु
क्यान्सरको पहिलो चरणमा अस्पताल आउने बिरामीहरु कतिको हुनुहुन्छ?
पहिले पहिले बिरामीहरु क्यान्सरको तेस्रो, चौथो चरणमा मात्र अस्पातल आईपुग्थिए तर आजकल जमना त्यस्तो छैन। हस्पिटल नगई घरमै बसेर औषधी खाने चलन छैन। सबै मानिसहरुमा त्यसमा पनि युवा समूहहरु बढी सचेत भएको पाईएको छ।
यो हुनुको कारण अहिलेको जमनामा ईन्टरनेट देखी सबैको सुबिधा रहेको छ जसको मद्दतले मानिसहरुले आफ्नो रोगको बारेमा पढ्ने र हेर्ने गरेका हुन्छन्। यो कुराहरुले गर्दा उहाँहरुमा एकचोटी अस्पताल गएर जाँच्नुपर्छ भन्ने भावना आएको छ र बिरामीहरु अहिले क्यान्सरको पहिलो चरणमै आउन थालेका छन्।
बच्ने उपाय
फोक्सोको क्यान्सर लागेर उपचार गर्नभन्दा यो रोग लाग्नबाट बच्नु नै बुद्धिमानी हो। यसका लागि रोकथामका उपायहरू गर्नु आवश्यक पर्छ।
- फोक्सोको क्यान्सरको मुख्य कारण धूमपान भएकोले धूमपान र सूर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन। अरूले गरेको धूमपानको असरले धूमपान नगर्ने व्यक्तिलाई पनि क्यान्सर हुनसक्ने हुँदा सार्वजनिक ठाउँँमा यातायातका साधनमा धूमपान गर्नुहुदैन।
- कलकारखाना लगायत सवारी साधनहरूबाट निस्कने धूँवाबाट जोगिनुपर्छ। भान्सा कोठामा खाना पकाउन सुरक्षित चुलोको प्रयोग गरी धूँवाबाट बच्नु पर्छ ।
- यसबाहेक हरेक दिनको खानामा ताजा सागपात,फलफूल समावेश गर्न सकेमा क्यान्सरलगायत अन्य रोगबाट पनि बच्न सकिन्छ।
(कन्सल्टेन्ट मेडिकल ओन्कोलोजिस्ट डा. सचिन शाक्यसँगको कुराकानीमा आधारित। )