वीरगञ्ज। पर्सा र बारा सहित मध्यतराईका जिल्लामा शीतलहरसँगै बाक्लो हुस्सु लागेपछि जनजीवन प्रभावित बनेको छ। चिसो अत्यधिक बढ्दै जाँदा दैनिक कामकाजदेखि बालबालिकाको पठनपाठनसम्म प्रभावित भएको छ।
पुस १ गतेदेखि सुरु भएको शीतलहरका कारण दिउँसोसमेत घाम नलाग्दा चिसो अझै बढेको स्थानीयवासीले बताएका छन्। कुहिरो र चिसो हावाका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दैनिक ज्याला मजदुरी गर्नेहरूलाई बढी समस्या भएको छ।
चिसोको असर बढ्दै गएपछि पर्सा जिल्लाका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिन थालेका छन्। वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, पकहाँमैनपुर र छिपहरमाई गाउँपालिकाले आगामी पुस १३ गतेसम्म सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
बाक्लो हुस्सुसँगै चिसो हावा चल्न थालेपछि बिहान र बेलुका बाहिर निस्कन कठिन भएको छ। चिसोका कारण सर्वसाधारणको दैनिकी प्रभावित हुँदा बजार, यातायात तथा खुला क्षेत्रमा गरिने कामकाजमा समेत कमी आएको छ।
मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कंडेलका अनुसार मधेश प्रदेशमा हुस्सु र कुहिरो लागिरहँदा तापक्रम निरन्तर घटिरहेको छ। “बारा र पर्सा दुवै जिल्लामा चिसो बढिरहेको छ,” उनले भने, “वीरगञ्जमा आज बिहान न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ।”
मौसमविद्हरूले केही दिनसम्म शीतलहरको प्रभाव कायम रहन सक्ने भन्दै चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानो कपडा लगाउने, बिहान र राति अनावश्यक रूपमा बाहिर ननिस्कने तथा स्वास्थ्यमा समस्या देखिएमा तुरुन्त उपचार गराउन सुझाव दिइएको छ।