धरान (सुनसरी) । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब सबै प्रकारका प्रयोगशाला परीक्षण सेवा चौबिसै घण्टा उपलब्ध हुने भएको छ। प्रतिष्ठानले आपतकालीन र रुटिन ल्याबलाई एकीकृत गर्दै ‘केन्द्रीय प्रयोगशाला’ सञ्चालनमा ल्याएको हो, जुन यही पुस ५ गतेदेखि लागू भएको छ।
प्रतिष्ठानकी प्रवक्ता प्रा. डा. अञ्जु प्रधानका अनुसार स्वचालित, अर्धस्वचालित तथा किट–आधारित प्रविधिमार्फत गरिने परीक्षणका रिपोर्ट आपतकालीन तथा इएचएस सेवाका बिरामीलाई नमुना प्राप्त भएको दुई घण्टाभित्र र ओपिडी तथा आइपिडी सेवाका बिरामीलाई तीन घण्टाभित्र उपलब्ध गराइनेछ।
यसअघि आपतकालीन ल्याबबाट सीमित परीक्षण मात्र सम्भव हुँदै आएकोमा नयाँ व्यवस्थाले त्यो समस्या हटाएको छ। अब बिरामीका नमुना छुट्टाछुट्टै ल्याबमा पठाउनुपर्ने झन्झट अन्त्य भएको प्रतिष्ठानले जनाएको छ। नयाँ प्रणालीबाट वार्ड राउन्डका क्रममा परीक्षण रिपोर्ट समयमै प्राप्त हुने र उपचार प्रक्रिया अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।