काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा अत्यधिक विषादी भेटिएपछि जनस्वास्थ्यमा गम्भीर जोखिम देखिएको छ। केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइले नियमित परीक्षणका क्रममा उक्त साग मानव उपभोगका लागि अयोग्य रहेको जनाएको हो।
प्रयोगशालाका अनुसार मंगलबार गरिएको १५ वटा तरकारी नमुना परीक्षणमध्ये उत्तम प्रसाद रेग्मीले ल्याएको रायोको सागमा ‘अर्गानोफोस्फेट’ समूहको विषादी ९९.०८ प्रतिशतसम्म फेला परेको छ। साथै सोही सागमा ‘कार्वामेट’ समूहको विषादी ३१.४८ प्रतिशत रहेको देखिएको छ। सरकारको मापदण्डअनुसार ४५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा त्यस्तो तरकारी नष्ट गर्नुपर्ने हुन्छ।
विषादीको अत्यधिक प्रयोगले स्नायु प्रणालीमा असर, टाउको दुखाइ, बान्ता, दीर्घकालीन रूपमा क्यान्सर तथा अन्य गम्भीर रोगको जोखिम बढाउने स्वास्थ्य विज्ञहरू बताउँछन्। परीक्षणमा अन्य १४ वटा तरकारी भने उपभोग योग्य पाइएका छन्। प्रयोगशालाले नतिजा आवश्यक कारबाहीका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई पठाएको जनाएको छ।