सिरहा । लगातारको शीतलहरका कारण सिरहा जिल्लामा जनस्वास्थ्य जोखिम बढ्दै गएको छ। चिसो हावा र घट्दो तापक्रमले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिकी कष्टकर बनेको हो। शीतलहरको प्रभाव बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदायमा बढी देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
अत्यधिक चिसोका कारण रुघाखोकी, दम, निमोनिया, जोर्नी दुखाइ तथा उच्च रक्तचापजस्ता समस्या बढ्ने जोखिम रहेकाले सतर्कता आवश्यक रहेको जनस्वास्थ्य विज्ञहरूको भनाइ छ। चिसो बढेपछि स्थानीय बासिन्दा घुर तापेर बस्न थालेका छन् भने विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएको छ। न्यानो कपडाको अभावले विपन्न परिवारका बालबालिका बढी प्रभावित भएका छन्।
बढ्दो चिसोबाट नागरिकलाई जोगाउन लहान नगरपालिकाले बजारका विभिन्न चोकमा दाउरा बाल्ने व्यवस्था सुरु गरेको छ। साथै ५०० विपन्न परिवारलाई न्यानो फाइबर सिरक वितरणको तयारी गरिएको छ। डिभिजन वन कार्यालयले पनि दाउरा व्यवस्थापनमा सहयोग गरिरहेको छ। जिल्ला विपद् व्यवस्थापन समिति सक्रिय बन्दै गएसँगै चिसोबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरणका लागि थप राहत कार्यक्रम विस्तार गरिने तयारी भइरहेको छ।