काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका–२०८२ विपरीत आर्थिक लाभ लिने उद्देश्यले एम्बुलेन्स सञ्चालन गरे कानुनी कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ। आकस्मिक स्वास्थ्य सेवाका लागि परिचालन हुने एम्बुलेन्स सेवालाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ।
निर्देशिकाअनुसार सबै एम्बुलेन्स सेवाहरू अनिवार्य रूपमा प्रेषण केन्द्रमा आवद्ध भई सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ। तर पछिल्लो समय केही एम्बुलेन्स चालक तथा सञ्चालकले बिरामी वा घाइतेलाई आर्थिक प्रलोभनमा पारेर बिरामीको इच्छा, अस्पतालको प्रेषण वा प्रेषण केन्द्रको निर्देशनबिना निजी तथा महँगा अस्पतालतर्फ लैजाने गरेको गुनासो मन्त्रालयमा प्राप्त भएको जनाइएको छ।
मन्त्रालयले अप्ठ्यारो अवस्थामा परेका बिरामीबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्त दुःखद र गैरजिम्मेवार कार्य भएको भन्दै यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ। साथै सबै एम्बुलेन्स चालकलाई प्रेषण गरिएको वा बिरामीले चाहेको स्वास्थ्य संस्थामै अनिवार्य रूपमा लैजान आग्रह गरिएको छ।
निर्देशिकाको उल्लङ्घन गरी आर्थिक लाभ वा अन्य मापदण्ड विपरीत कार्य गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।