ललितपुर । बागमती प्रदेश सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम पछिल्लो समय प्रभावकारी देखिए पनि यसमा कार्यरत नर्सहरू भने विभिन्न समस्याले पिरोलिएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले बुधबार आयोजना गरेको समीक्षा कार्यक्रममा सहभागी नर्सहरूले आफूहरूले आधारभूत सुविधा र कार्यस्थलको अभावमा काम गर्नुपरेको गुनासो गरेका छन्।
समीक्षा कार्यक्रममा बोल्दै नर्सहरूले स्थायी दरबन्दी नहुँदा हरेक ६ महिनामा करार नवीकरण गर्नुपर्ने अस्थिरता, न्यून तलब र उचित कार्य वातावरणको अभावलाई मुख्य समस्याका रूपमा औंल्याएका छन्। विशेषगरी, एकजना नर्सले एक हजारभन्दा बढी विद्यार्थीलाई सेवा दिनुपर्ने बाध्यता रहेको र विद्यालय प्रशासनबाट समेत अपेक्षित सहयोग प्राप्त नहुँदा किशोरकिशोरीको स्वास्थ्य समस्या समाधानमा कठिनाइ भइरहेको उनीहरूको भनाइ छ। ललितपुरका ५४ विद्यालयमा यो कार्यक्रम लागू भए पनि हाल ४५ जना नर्स मात्र कार्यरत रहेको तथ्याङ्कले कर्मचारीको अभावलाई प्रस्ट पार्छ।
कार्यक्रममा आदर्शशौल माविकी नर्स सरस्वती शाक्य र बालकुमारी माविकी अनु तिमल्सिनाले विद्यालयमा प्राथमिक उपचार कक्ष र बालमैत्री शौचालयको अभाव रहेको बताए। यस्तै, जनक माविकी नर्स धना विष्टले विद्यार्थीलाई दिइने खाजा खर्च समयमै उपलब्ध नहुँदा स्वास्थ्य सुधारमा असर परेको उल्लेख गरे। जनस्वास्थ्य कार्यालयका प्रमुख डा। खगेश्वर गेलालले कार्यविधि र निर्देशिकाका कमजोरी सुधार्दै नर्सहरूका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। बागमती प्रदेश सरकारले यस वर्ष यस कार्यक्रमका लागि ५४ करोड रुपैयाँ विनियोजन गरेको छ, जसले १३ जिल्लाका ८४८ विद्यालयलाई समेट्ने लक्ष्य राखेको छ।