युरोपमा गरिएको बृहत् अनुसन्धानले दान गरिएको शुक्राणु प्रयोग गरी जन्मिएका कम्तीमा १९७ जना बालबालिकामा क्यान्सरको उच्च जोखिम देखिएको खुलासा गरेको छ। डेनमार्कस्थित ‘युरोपियन स्पर्म बैंक’बाट बिक्री भएको एक दाताको शुक्राणुमा खतरनाक आनुवंशिक उत्परिवर्तन रहेको पुष्टि भएपछि यो विषय सार्वजनिक भएको हो। उक्त अनुसन्धान बीबीसीसहित १४ वटा सार्वजनिक हितका प्रसारकहरूले युरोपियन ब्रोडकास्टिङ युनियनको इन्भेस्टिगेटिभ जर्नलिज्म नेटवर्कअन्तर्गत गरेका हुन्।
अनुसन्धानअनुसार दाताले सन् २००५ देखि करिब १७ वर्षसम्म शुक्राणु दान गरेका थिए। प्रारम्भिक चिकित्सकीय परीक्षणमा उनी स्वस्थ देखिएका थिए। तर पछि उनका करिब २० प्रतिशत शुक्राणुमा TP53 जीनमा गम्भीर उत्परिवर्तन रहेको पत्ता लाग्यो। TP53 जीनले शरीरका कोषहरूलाई क्यान्सर हुनबाट जोगाउने महत्वपूर्ण भूमिका खेल्छ। यही जीनमा क्षति पुग्दा ‘ली–फ्रमेनी सिन्ड्रोम’ नामक अवस्था उत्पन्न हुन्छ, जसमा जीवनकालभर क्यान्सर हुने सम्भावना ९० प्रतिशतसम्म पुग्न सक्छ, विशेषगरी बाल्यकालमा र महिलामा स्तन क्यान्सरको रूपमा।
डाक्टरहरूका अनुसार प्रभावित शुक्राणुबाट जन्मिएका बच्चाहरूको हरेक कोषमा त्यो उत्परिवर्तन हुन्छ। हालसम्म थाहा भएका ६७ बालबालिकामध्ये २३ जनामा उक्त जीन पुष्टि भइसकेको छ र कम्तीमा १० जनामा क्यान्सर देखिइसकेको छ। केही बालबालिकामा दुई प्रकारका क्यान्सरसमेत भेटिएका छन् भने अत्यन्तै कम उमेरमै मृत्यु भएका घटनाहरू पनि छन्।
उक्त शुक्राणु १४ देशका ६७ वटा फर्टिलिटी क्लिनिकमार्फत प्रयोग गरिएको थियो। यूकेमा भने सोझै बिक्री नभए पनि डेनमार्क र अन्य युरोपेली देशमा फर्टिलिटी उपचार गराएका केही ब्रिटिश परिवार प्रभावित भएको पुष्टि गरिएको छ। युरोपियन स्पर्म बैंकले प्रभावित परिवारप्रति “गहिरो सहानुभूति” व्यक्त गर्दै समस्या थाहा पाउनासाथ दाताबाट शुक्राणु संकलन रोकिएको जनाएको छ।
यस घटनाले अन्तर्राष्ट्रिय रूपमा शुक्राणु दाताको प्रयोगमा कडा नियमन आवश्यक छ कि छैन भन्ने बहसलाई पुनः चर्काएको छ। विश्वभर प्रति दाता कति परिवारले शुक्राणु प्रयोग गर्न पाउने भन्ने एकरूप कानुन नहुँदा यस्ता जोखिम दोहोरिन सक्ने विज्ञहरूको चेतावनी छ। बीबीसी