काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिम बद्री ले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। 'पेशागत मर्यादा र अटुट एकता: सबल एशोसिएशनका लागि टिम बद्रीको प्रतिबद्धता' भन्ने नाराका साथ टिम बद्री निर्वाचन मैदानमा उत्रिएको हो।
संघीय संरचनाअनुसारको स्वास्थ्य प्रणाली, चिकित्सकहरूमाथि बढ्दो पेशागत दबाब, सुरक्षा चुनौती र नयाँ पुस्ताको अपेक्षालाई मध्यनजर गर्दै टिम बद्रीले संघलाई केवल संगठन नभई सबै चिकित्सकको साझा परिवार, सुरक्षित आवाज र जनस्वास्थ्यको भरपर्दो साझेदार बनाउने संकल्प गरेको छ।
टिम बद्रीका संयोजक डा. बद्री रिजालका अनुसार प्रतिबद्धता पत्र चिकित्सकको हकहित, सुरक्षा, मानसिक स्वास्थ्य, शैक्षिक–अनुसन्धान तथा संस्थागत सुदृढीकरणमा केन्द्रित छ। “चिकित्सकको सम्मान, सुरक्षा र पेशागत स्वतन्त्रताको रक्षा गर्दै गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो भन्ने मान्यतालाई व्यवहारमा उतार्नु हाम्रो लक्ष्य हो,” उनले भने।
६ मुख्य प्रतिबद्धता
१. दरबन्दी, पारिश्रमिक र सेवा सुविधा
चिकित्सकको आर्थिक सुरक्षा र पेशागत मर्यादालाई प्राथमिकतामा राख्दै टिम बद्रीले नयाँ दरबन्दी सिर्जना, वैज्ञानिक तलबमान, निजी क्षेत्रमा न्यूनतम तलब, जोखिम तथा दुर्गम भत्ता वृद्धि, बीमा सुविधा, अतिरिक्त आम्दानीमाथिको कर पुनरावलोकन र ‘चिकित्सा सेवा विधेयक’ संसदसम्म लैजाने प्रतिबद्धता जनाएको छ। पहिलो वर्षमै २,१०० र पाँच वर्षमा १० हजारभन्दा बढी दरबन्दी थप गर्न सरकारमाथि दबाब दिने उल्लेख छ।
२. सुरक्षा : भयरहित सेवा, सुरक्षित पेशा
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको पूर्ण कार्यान्वयन, अस्पतालमा सुरक्षा युनिट, कानुनी संरक्षण, निःशुल्क कानुनी सहायता, सेफ्टी अडिट, भ्रामक समाचारविरुद्ध तत्काल प्रतिक्रिया र अस्पतालस्तरमा Hospital Communication and Conflict Management Committee गठन गर्ने प्रतिबद्धता गरिएको छ।
३. र्यापिड रेस्पोन्स टिम (RRT)
चिकित्सकमाथि आक्रमण, दुर्व्यवहार, कानुनी झमेला, विपद् वा व्यक्तिगत संकटमा तत्काल सहयोग र समाधानका लागि र्यापिड रेस्पोन्स टिम गठन गरिनेछ। यसले सुरक्षा, कानुनी, आर्थिक, शैक्षिक तथा पेशागत सहयोग प्रदान गर्नेछ।
४. ड्युटी आवर र मानसिक स्वास्थ्य
वैज्ञानिक ड्युटी आवर, अतिरिक्त श्रमको उचित मूल्यांकन, बर्न–आउट व्यवस्थापन, मनोसामाजिक परामर्श, अनिवार्य विश्राम र वेलनेस कार्यक्रम (ध्यान, योग) लाई संस्थागत गर्ने प्रतिबद्धता छ।
५. शैक्षिक कार्यक्रम र अनुसन्धान
पीजी अध्ययनका अवरोध हटाउने, बोन्डसम्बन्धी समस्या समाधान, शैक्षिक ऋण कार्यान्वयन, समकक्षता समस्या समाधान, अनुसन्धानका लागि ग्रान्ट र अवार्ड, एनएमए रिसर्च विङ सुदृढीकरण र मेडिकल विद्यार्थी छात्रवृत्ति वृद्धि गर्ने योजना सार्वजनिक गरिएको छ।
६. सबै चिकित्सक अट्ने एनएमए
मेडिकल विद्यार्थीदेखि सेवा निवृत्त अग्रजसम्म समेट्ने संरचना, NMA Gurukul Series, Senior–Junior Conclave, जिल्ला–जिल्लामा एनएमए युनिट, मेडिकल स्टुडेन्ट्स विङ, NMA कार्ड सुविधा, मेडिकल म्युजियम, लाइब्रेरी विस्तार, JNMA र मिडिया रुम सशक्त बनाउने प्रतिबद्धता गरिएको छ।
टिम बद्री समूहबाट उम्मेदवारहरूको सूची
अध्यक्ष: डा. बद्री रिजाल
वरिष्ठ उपाध्यक्ष: डा. सन्जिब तिवारी
उपाध्यक्ष/प्रदेश संयोजक:
कोशी: डा. रोशन खड्का
मधेश: डा. अमित रञ्जन मिश्र
बागमती: डा. सुवास भट्टराई
गण्डकी: डा. नवराज लम्डारी
लुम्बिनी: डा. नन्दा गुरुङ
सुदूरपश्चिम: डा. प्रमोद जोशी
महासचिव: डा. विश्वराज दवाडी
कोषाध्यक्ष: डा. संयुक्त आचार्य
सहसचिव: डा. हुलास अग्रवाल
सह–कोषाध्यक्ष: डा. तेजसुसिंह मल्ल
सदस्यहरू: डा. परशु राम घिमिरे, डा. राकेश साह, डा. सुमेध मिश्र, डा. बिना श्रेष्ठ, डा. हिमलाल भण्डारी र डा. सुस्मित काफ्ले
टिम बद्रीले २०८२ साल माघ २ र ३ गते काठमाडौं उपत्यकाबाहिर तथा माघ १५, १६ र १७ गते काठमाडौं उपत्यकाभित्र हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई मतदान गरी अत्यधिक मतले विजयी गराउन सम्पूर्ण चिकित्सकहरूलाई आग्रह गरेको छ।