काठमाडौँ । पायक पर्ने स्थानमा सञ्चालन हुँदै आएका ‘एकीकृत परिवार योजना शिविर’मा महिलाको तुलनामा पुरुषको सहभागिता न्यून देखिएको छ । जिल्ला जनस्वास्थ्य/स्वास्थ्य कार्यालयले पालिकासँग समन्वय गरी सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा सञ्चालन गर्ने यस्ता शिविरमा स्थायी परिवार योजना सेवा लिनेमा पुरुषको रुचि कम देखिएको हो ।
गत मङ्सिर ८ देखि २६ गतेसम्म कैलालीका १० स्थानमा सञ्चालन गरिएका घुम्ती शिविरमा २११ जनाले स्थायी परिवार योजना सेवा लिएका थिए । तीमध्ये १९३ महिलाले ‘मिनील्याप’ (महिला बन्ध्याकरण) सेवा लिँदा मात्र आठ जना पुरुषले ‘भ्यासेक्टोमी’ (पुरुष बन्ध्याकरण) सेवा लिएका थिए । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार शिविरमा परिवार योजनासम्बन्धी सबै साधन तथा सेवा निःशुल्क उपलब्ध गराइन्छ ।
परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईँका अनुसार भ्यासेक्टोमीपछि काम गर्न गाह्रो हुन्छ भन्ने भ्रम, सामाजिक सोच र जानकारीको अभावले पुरुषको सहभागिता कम हुने गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका शिविरमा सेवा लिने २४२ जनामध्ये २२० महिला र २२ पुरुष मात्र थिए ।
सुनौलो परिवार नेपालका अनुसार गत आवमा सातै प्रदेशका २८ जिल्लाका २८६ दुर्गम स्थानमा सञ्चालन गरिएका शिविरमा १० हजार १९९ महिलाले मिनील्याप र ४९७ पुरुषले भ्यासेक्टोमी सेवा लिएका थिए । यसले अझै पनि पुरुष सहभागिता निकै कम रहेको देखाउँछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परिवार व्यवस्थापन सेवाको पहुँच विस्तार गर्न एकीकृत परिवार योजना शिविरलाई साझेदारी मोडालिटीमा सञ्चालन गर्दै आएको छ । मन्त्रालयका अनुसार यसले ग्रामीण, विपन्न तथा सीमान्तकृत समुदायसम्म सेवा पुर्याउन सहयोग पुगेको छ । तर, परिवार योजना सेवाको प्रयोगदर अझै ५३ प्रतिशतमा सीमित रहेको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (२०२२) ले देखाएको छ ।
स्वास्थ्य मन्त्रालयले परिवार योजना सेवामा पुरुषको सहभागिता बढाउन सचेतना, भ्रम चिर्ने अभियान र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।