काठमाडौं । नेपाल मेडिकल एसोसिएसन (एनएमए) निर्वाचन–२०८२ का लागि ‘टिम मंगल’ले परिवर्तनमुखी एजेन्डा र चार खम्बे प्रतिबद्धतासहित आफ्नो संकल्पपत्र सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत टिमले उम्मेदवार, नीति तथा भावी कार्यदिशा सार्वजनिक गरेको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा. मंगल रावलको नेतृत्वमा बनेको टिम मंगलले एनएमएलाई पेशागत, सहभागितामूलक, सेवामूलक र पारदर्शी संस्थाका रूपमा पुनःस्थापित गर्ने लक्ष्य लिएको जनाएको छ । “हाम्रो एनएमए, सबैको एनएमए” नारासहित टिमले सबै चिकित्सकको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
समावेशी नेतृत्वलाई प्राथमिकता दिँदै टिममा चार जना महिला उम्मेदवार समेटिएका छन्, जसमा एक जना मुस्लिम समुदायबाट हुनुहुन्छ । साथै जातीय, धार्मिक र भौगोलिक सन्तुलन मिलाइएको टिमको दाबी छ । बाराकोटी प्रतिवेदनको कार्यान्वयनलाई मूल एजेन्डा बनाउँदै उक्त प्रतिवेदन निर्माण समितिका संयोजक डा. टंकप्रसाद बाराकोटीलाई कोशी प्रदेश उपाध्यक्ष (संयोजक) को उम्मेदवार बनाइएको छ ।
टिम मंगलबाट अध्यक्षमा डा. मंगल रावल, वरिष्ठ उपाध्यक्षमा डा. कीर्तिपाल सुवेदी र महासचिवमा डा. कालुसिंह खत्री उम्मेदवार छन् । प्रदेश संयोजक उपाध्यक्षमा कोशीमा डा. बाराकोटी, मधेशमा डा. उदयनारायण सिंह, वागमतीमा डा. अरुण शाही, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. सन्तोष पोखरेल, कर्णालीमा डा. रविन खड्का र सुदूरपश्चिममा डा. निरज आर्याल रहेका छन् । कोषाध्यक्षमा डा. चाँदनी जैसवाल, सह–महासचिवमा डा. रामजीवन प्रसाद र सह–कोषाध्यक्षमा डा. सुवास गुरुङ उम्मेदवार छन् ।
संकल्पपत्रमा टिमले एनएमएलाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त राख्ने, एप–आधारित ब्यालोटिङमार्फत निर्णय प्रक्रिया लागू गर्ने, चिकित्सक ऐन जारी गराउन दबाब सिर्जना गर्ने तथा निःशुल्क कानुनी सेवा, रोजगारी सहायता, डिजिटल प्लेटफर्म र मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । “यो घोषणापत्र मात्र होइन, व्यवस्था बदल्ने संकल्प हो,” टिम मंगलले स्पष्ट पारेको छ ।
एनएमएको केन्द्रीय कार्यकारिणी समितिका १९ पदका लागि हुने निर्वाचन उपत्यकाबाहिर माघ २ र ३ गते तथा काठमाडौं उपत्यकामा माघ १५ देखि १७ गतेसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ ।
टिम मङ्गलका प्रतिबद्धताका ४ आधारस्तम्भ
एनएमएमा निर्वाचित भइसकेपछि टिम मङ्गलका प्रत्येक सदस्यले निम्न प्रतिबद्धता पालना गर्नेछन्।
