काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा शीतलहरसँगै बढेको चिसोले तराई र पहाडी क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । रौतहटसहित मधेश प्रदेशका विभिन्न जिल्लामा विगत एक सातादेखि हुस्सु र शीतलहर बढ्दै जाँदा जाडो तीव्र बनेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका तथा आसपासका क्षेत्र जोगीदह, मोथ्याई, बगाहा, गाईघाट र लक्ष्मीपुरमा अत्यधिक चिसोका कारण वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएका छन् । स्थानीयका अनुसार तीन दिनदेखि शीतलहर जारी रहँदा मानिस घरबाहिर निस्कन नसकी घुर तापेर बस्न बाध्य छन् । चिसोका कारण खेतबारी तथा घाँसदाउरा गर्न नसक्दा पशुपालनसमेत प्रभावित भएको छ ।
विद्यालय जाने साना बालबालिका चिसोकै कारण घरमै बस्न थालेपछि कक्षा ५ भन्दामुनिका विद्यार्थीको उपस्थिति घटेको विद्यालयहरूले जनाएका छन् । आज राति पनि तराईका अधिकांश स्थानमा हुस्सु रहने पूर्वानुमान छ । महाशाखाले कुहिरोका कारण स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।