काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको हिजो सम्पन्न निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ । काउन्सिलका अनुसार जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्थानीय विकास प्रशिक्षण केन्द्र) को हलमा मतगणना अघि बढाइएको हो ।
मतगणना प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु भएको र मतगणनाका लागि करिब दुई दिन लाग्ने अनुमान गरिएको काउन्सिलले जानकारी दिएको छ । नेपाल मेडिकल काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि पुस ४ गतेदेखि सुरु भएको मतदान प्रक्रिया हिजो सम्पन्न भएको थियो । निर्वाचन काठमाडौं उपत्यकाबाहिर पुस ४ र ५ गते तथा काठमाडौं उपत्यकामा पुस ११ र १२ गते सञ्चालन गरिएको थियो ।
निर्वाचनमा कुल ११ हजार ९ सय २२ मत खसेको छ । तीमध्ये काठमाडौं उपत्यकामा ५ हजार ७६ मत खसेको छ भने उपत्यका बाहिर ६ हजार ८ सय ४६ मत खसेको काउन्सिलले जनाएको छ । यसपटकको निर्वाचनमा उपाध्यक्ष पदका लागि तीन जना उम्मेदवार मैदानमा छन् भने आठ सदस्य पदका लागि ३३ जनाको उम्मेदवारी परेको छ । मतगणनापछि नतिजा सार्वजनिक गरिने काउन्सिलले जनाएको छ ।