योनिमा रहेको माइक्रोबायोम पेटको माइक्रोबायोमजति चर्चामा नआए पनि महिलाको समग्र स्वास्थ्यका लागि यसको भूमिका अत्यन्त महत्वपूर्ण रहेको वैज्ञानिकहरूले बताएका छन्। योनिभित्र ब्याक्टेरिया, फङ्गस र भाइरस गरी हजारौँ प्रकारका सूक्ष्म जीवहरू मिलेर बनेको एक संवेदनशील पारिस्थितिक प्रणाली हुन्छ, जहाँ ती जीवहरू पोषकतत्त्व र स्थानका लागि एक–आपसमा प्रतिस्पर्धा गर्छन्।
यी सूक्ष्म जीवहरूमध्ये केहीले संक्रमणबाट जोगाउने मात्र होइन, गर्भावस्थाको नतिजा सुधार गर्नसमेत सहयोग पुर्याउने पाइएको छ। विशेषगरी ल्याक्टोबसिलस नामक लाभदायी ब्याक्टेरिया पर्याप्त मात्रामा भए बाँझोपन, गर्भपतन, समयअगावै सुत्केरी तथा पाठेघरको क्यान्सरको जोखिम कम हुने अध्ययनहरूले देखाएका छन्। यही कारण वैज्ञानिकहरू योनिको माइक्रोबायोम सन्तुलनका लागि नयाँ परीक्षण र उपचार विकासमा जुटिरहेका छन्, जसले भविष्यमा प्रजनन स्वास्थ्य सेवामा ठूलो परिवर्तन ल्याउन सक्ने अपेक्षा गरिएको छ।
बाल्यकालमा योनिको माइक्रोबायोममा अक्सिजन कम भएको वातावरणमा बढ्ने एनारोबिक ब्याक्टेरियाको प्रभुत्व हुन्छ। तर यौवनकालमा एस्ट्रोजनको मात्रा बढेसँगै ल्याक्टोबसिलस का लागि अनुकूल वातावरण तयार हुन्छ। यी ब्याक्टेरियाले रोगकारक कीटाणुसँग पोषकतत्त्व र स्थानका लागि प्रतिस्पर्धा गर्नुका साथै ल्याक्टिक एसिड उत्पादन गरेर योनिलाई हानिकारक जीवका लागि प्रतिकूल बनाइदिन्छन्। यसले संक्रमणको सम्भावना कम गर्छ र शरीरको प्रतिरक्षा प्रणालीलाई पनि सन्तुलित राख्न मद्दत पुर्याउँछ।
तर जब योनिको माइक्रोबायोम बिग्रन्छ र ल्याक्टोबसिलसको मात्रा घट्छ, त्यस अवस्थालाई भजाइनल डिस्बायोसिस भनिन्छ। यसले ब्याक्टेरियल भजाइनोसिस, युरिनरी ट्र्याक्ट इन्फेक्सन र यौनजन्य रोगको जोखिम बढाउँछ। यौन सम्बन्धमा सक्रिय महिलामा यस्तो असन्तुलन हुँदा एचआइभी तथा एचपीभीजस्ता भाइरसको खतरा अझ बढी हुने पाइएको छ।
विशेषज्ञहरूका अनुसार कम मात्रामा ल्याक्टोबसिलस भएका महिलामा एचपीभी संक्रमण लामो समयसम्म रहने र पाठेघरको मुखको क्यान्सरको सम्भावना बढ्ने देखिएको छ। माइक्रोबायोमलाई उनीहरूले जङ्गलसँग तुलना गर्छन्—यदि जङ्गल स्वस्थ छ भने बाहिरबाट आएका हानिकारक बिउ सजिलै उम्रिँदैनन्, तर वातावरण कमजोर भए खराब जीवहरू छिट्टै फैलिन सक्छन्।
यसैले योनिको माइक्रोबायोम सन्तुलन जोगाउनु महिलाको दीर्घकालीन स्वास्थ्य र प्रजनन सुरक्षाका लागि अत्यावश्यक मानिएको छ।बीबीसी