काठमाडौं । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष पदमा मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पा निर्वाचित भएका छन्। डा. गुरुशरण शाह र डा. अजय सिंह थापालाई पराजित गर्दै उनी विजयी भएका हुन्।
सम्पन्न निर्वाचनको मतगणनाअनुसार डा. शेर्पाले ५ हजार २३४ मत प्राप्त गर्दै उपाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी डा. गुरुशरण शाहले ४ हजार ३५० मत ल्याए भने अर्का उम्मेदवार डा. अजय सिंह थापाले १ हजार ८४४ मत प्राप्त गरे।
वीर अस्पतालमा कार्यरत डा. शेर्पा यसअघि काउन्सिलका सदस्यसमेत रहिसकेका छन्। निर्वाचनमा डा. शेर्पाले डा. शाहलाई ८८४ मतको अन्तरले पराजित गरेका हुन्।
यसैगरी नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा आठ जना निर्वाचित भएका छन्। सबैभन्दा बढी मत डा. छविलाल पन्थीले ४ हजार ८५७ मत ल्याउँदै प्राप्त गरेका छन्। डा. सारिका गोइतले ४ हजार ४७९, डा. दीपेन्द्र पाण्डेले ४ हजार १५, डा. योविन यादवले ३ हजार ६२८, डा. अस्मिता पोखरेलले ३ हजार ४०४, डा. सम्राट पराजुलीले ३ हजार २८२, डा. नीना राईले ३ हजार १११ र डा. रविन बस्नेतले ३ हजार ७२ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका छन्।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि पुस ४, ५, ११ र १२ गते देशभर २१ वटा निर्वाचन केन्द्रमा मतदान भएको थियो। निर्वाचनमा काठमाडौं उपत्यका र बाहिर गरी कुल ११ हजार ९२२ मत खसेको निर्वाचन समितिले जनाएको छ। निर्वाचित पदाधिकारीहरूको कार्यकाल चार वर्षको रहने व्यवस्था छ।