काठमाडौँ । पाँचबुँदे माग अघि सार्दै १० दिनदेखि माइतीघर मण्डलामा आमरण अनसनमा रहेका डा. कमल भुसाल (निकोलस भुसाल)को स्वास्थ्य अवस्था बिग्रिएपछि बुधबार वीर अस्पताल भर्ना गरिएको छ । नेपाल चिकित्सक संघको पहलमा उनलाई माइतीघरबाट वीर अस्पतालको सर्जिकल ब्लकमा सारिएको हो ।
वीर अस्पतालका निर्देशक प्राडा दिलीप शर्माका अनुसार डा. भुसालको अवस्था स्थिर भए पनि उनलाई स्लाइन पानी मात्र दिइएको छ र उनले अस्पतालमै अनसन जारी राखेका छन् । अनसनका क्रममा उनलाई रिंगटा लाग्ने, शरीर सुन्निने जस्ता समस्या देखिएको थियो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले डा. भुसालको जीवनरक्षाका लागि सरकारले अविलम्ब आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन् । माग सम्बोधन नगरे कडा कदम चाल्न बाध्य हुने संघको चेतावनी छ ।
डा. भुसालले जेन–जी आन्दोलनका घटनाका दोषीमाथि कारबाही, पक्राउ परेकाको रिहाइ, भ्रष्टाचार छानबिन, संविधान संशोधनलगायत माग राख्दै अनसनमा बसेका हुन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत माग्दै भुसालले आमरण अनसन शुरू गरेका थिए ।