झापा । मेचीनगर नगरपालिकामा पछिल्लो तीन वर्षमा खोजपड्ताल अभियानमार्फत ६६१ जना क्षयरोगका बिरामी पहिचान गरिएको छ । मेचीनगर स्वास्थ्य कार्यालयका अनुसार तीमध्ये करिब ९४ प्रतिशत बिरामी उपचारपछि पूर्ण रूपमा निको भएका छन् ।
आर्थिक वर्ष २०८३/८४ भित्र नगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्यसहित स्वास्थ्य शाखाले घरदैलोमै पुगेर परीक्षण, उपचार र अनुगमन गर्दै आएको शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् । चालू आर्थिक वर्ष २०८२/८३ का पहिलो पाँच महिनामा मात्रै ४६ जना नयाँ क्षयरोगी फेला परेका छन् । अघिल्ला वर्षहरूमा क्रमशः २०८१/८२ मा २१०, २०८०/८१ मा २०५ र २०७९/८० मा २०० जना संक्रमित पहिचान भएका थिए ।
नगर प्रमुख गोपाल बुढाथोकीले क्षयरोगमुक्त पालिका बनाउने अभियान प्रभावकारी रूपमा अघि बढिरहेको बताए । क्षयरोगका बिरामीलाई औषधिसँगै पोषण सहयोग पनि उपलब्ध गराउँदै आएको नगरपालिकाले अति विपन्न बिरामीलाई चामल, अण्डा, खानेतेल, बदाम, मिक्स सातु र मुसुरी दाल वितरण गर्दै आएको छ ।
नगरपालिकाले एआई प्रविधिको प्रयोग गरी छातीको एक्सरे परीक्षणसमेत गरिरहेको छ । यसका लागि विभिन्न वडामा शिविर सञ्चालन गरी क्षयरोगी पहिचानको काम तीव्र बनाइएको छ ।