सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कोइला बालेर सुत्दा निस्किएको धुवाँका कारण निस्सासिएर एक शिशुको मृत्यु भएको छ भने एउटै परिवारका तीन जना बेहोस भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटना वीरेन्द्रनगर नगरपालिका–१२ स्थित भाडाको कोठामा भएको हो ।
बन्द कोठाभित्र कोइला बालेर सुत्दा अक्सिजनको कमी भई ३८ दिनकी शिशु प्रतीक्षा बुढाको ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा ३० वर्षीया तारा बुढा, उनकी १३ वर्षीया भदैनी संगम बुढा र १० वर्षका छोरा प्रकाश बुढा बेहोस भएका थिए ।
प्रहरीका अनुसार भेरीगंगा नगरपालिका–२ स्थायी घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएका उनीहरू बिहीबार बिहानसम्म कोठाबाट ननिस्किएपछि घरधनीले ढोका खोलेर हेर्दा सबैलाई अचेत अवस्थामा फेला पारेका थिए । तत्काल उद्धार गरी तीनै जनालाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । हाल उनीहरूको स्वास्थ्य अवस्था क्रमशः सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार शिशुको शव पोस्टमार्टमका लागि प्रदेश अस्पतालमै राखिएको छ । प्रारम्भिक अनुसन्धानमा बन्द कोठामा कोइला बाल्दा धुवाँ जमेर अक्सिजनको कमी भएको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।