नेपालगन्ज । भेरी अस्पतालले सिफलिस (Syphilis) रोग सम्बन्धी VENUS26 अध्ययन सुरु गरेको छ। राष्ट्रिय महत्वको यस अनुसन्धान जनवरी १ देखि डिसेम्बर ३१, २०२६ सम्म सञ्चालन हुने छ। अध्ययनको औपचारिक सुरुआतसँगै अस्पताल परिसरमा परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न भएको थियो।
अध्ययनको नेतृत्व अस्पतालका प्रमुख कन्सल्टेन्ट, छाला तथा यौन रोग विशेषज्ञ डा. बद्री चापागाईँले गर्दै आएका छन्। डा. चापागाईँले सिफलिसलाई व्यक्तिगत स्वास्थ्य समस्या मात्र होइन, सामाजिक व्यवहार, वैदेशिक रोजगारी, औषधिको अनियन्त्रित प्रयोग र नीतिगत कमजोरीसँग गाँसिएको जटिल सार्वजनिक स्वास्थ्य समस्या भएको स्पष्ट पारे।
उनका अनुसार उपचार पूरा भइसकेका धेरै व्यक्तिहरू पनि TPHA परीक्षण पोजेटिभ देखिएर वैदेशिक रोजगारीका लागि अयोग्य ठहरिन्छन्। TPHA पोजेटिभ हुनु संक्रमण सर्ने अवस्था जनाउने संकेत नभएको तथ्यलाई वैज्ञानिक प्रमाणसहित स्थापित गर्नु अहिले आवश्यक छ।
बैठकमा सहभागीहरूले VENUS26 अध्ययनले सिफलिसको वास्तविक अवस्था, उपचार प्रक्रियामा देखिएका व्यवहारिक चुनौती, स्वास्थ्यकर्मीमा विद्यमान भ्रम र बिरामीले भोग्ने सामाजिक लाञ्छनाबारे तथ्यगत जानकारी दिने विश्वास व्यक्त गरे।
अध्ययनका लागि भेरी अस्पतालको छाला तथा यौन रोग विभागमा VENUS Corner स्थापना गरिएको छ। यहाँ सिफलिस सम्बन्धि परामर्श, परीक्षण र उपचार सुरक्षित, गोप्य र व्यवस्थित रूपमा प्रदान गरिनेछ। डा. चापागाईँले सबै नागरिकलाई समयमै परीक्षण र उपचारमा ध्यान दिन आग्रह गर्दै सिफलिस समयमै उपचार योग्य रोग भएको उल्लेख गरे।
बैठकमा भेरी अस्पतालका विभागीय प्रमुख, विशेषज्ञ चिकित्सकहरू, विभिन्न अस्पताल तथा यौन रोग क्षेत्रमा सक्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।