विराटनगर । नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन नजिकिँदै जाँदा अध्यक्षका उम्मेदवार डा. बद्री रिजाल नेतृत्वको समूहले कोशी प्रदेशमा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। बिहीबार विराटनगर पुगेको डा. बद्रीको टोलीले विभिन्न अस्पतालहरूमा पुगेर चिकित्सकहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेको छ।
‘सुरक्षित सेवा, सुरक्षित पेसा’ भन्ने मूल नारासहित मैदानमा उत्रिएको डा. बद्रीको प्यानलले चिकित्सकहरूको भौतिक सुरक्षा, रोजगारी सुनिश्चितता र पेशागत सम्मानलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ। टोलीले नोबेल मेडिकल कलेज, विराट टिचिङ हस्पिटल, कोशी अस्पताल, विराटनगर आँखा अस्पताललगायत स्वास्थ्य संस्थाहरूमा पुगेर त्यहाँ कार्यरत चिकित्सकहरूको गुनासो र सुझाव संकलन गरेको थियो।
साँझ विराटनगरमा आयोजित भेलालाई सम्बोधन गर्दै डा. रिजालले चिकित्सकहरूको हकहितका विषयमा आफ्नो टिम दृढतापूर्वक उभिने प्रतिबद्धता जनाए। उनले विगत तीन दशकदेखि ओएनएम सर्भे नहुँदा देशभर चिकित्सक बेरोजगारीको समस्या बढ्दै गएको उल्लेख गर्दै सरकारी अस्पतालहरूमा १० हजार चिकित्सक दरबन्दी थप्न सरकारलाई दबाब दिने घोषणा गरे। पहिलो वर्षमै कम्तीमा २ हजार १ सय दरबन्दी सिर्जनाका लागि पहल गरिने उनको भनाइ छ।
डा. रिजालले निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूका लागि पनि सरकारी सरह वैज्ञानिक न्यूनतम तलबमान लागू गराउन संघले नेतृत्वदायी भूमिका खेल्ने स्पष्ट पारे। चिकित्सकमाथि बढ्दो भौतिक आक्रमण र दुर्व्यवहार रोक्न ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरी तत्काल कानुनी तथा भौतिक सुरक्षा प्रदान गरिने योजना पनि सार्वजनिक गरिएको छ।
यस्तै, चिकित्सा शिक्षामा देखिएका विसंगति हटाउन स्नातकोत्तर अध्ययनका लागि अनिवार्य गरिएको एक वर्षे कार्य अनुभवको प्रावधान खारेज गर्न पहल गरिने पनि उनले जानकारी दिए। डा. बद्री रिजालको प्यानलमा वरिष्ठ उपाध्यक्षमा डा. सन्जिब तिवारी, महासचिवमा डा. विश्वराज दवाडी तथा कोशी प्रदेश संयोजकमा डा. रोशन खड्का सहित देशका सबै प्रदेशबाट प्रतिनिधित्व गर्ने बलियो टोली रहेको छ।
नेपाल चिकित्सक संघको निर्वाचन तालिका अनुसार उपत्यका बाहिर आगामी माघ २ र ३ गते मतदान हुँदैछ। कोशी प्रदेशका चिकित्सकहरूमाझ डा. बद्रीको टोलीले प्रस्तुत गरेको स्पष्ट कार्ययोजना र सुरक्षाप्रतिको प्रतिबद्धताले चुनावी माहोल थप तातेको देखिन्छ।