काठमाडौँ । देशभर चिसो बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ। मन्त्रालयका अनुसार चिसोका कारण विभिन्न स्वास्थ्य समस्या बढ्ने जोखिम देखिएको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अत्यधिक चिसो, शीतलहर, हुस्सु, कुहिरो तथा हिमपातले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने बताए। उनका अनुसार जाडोयाममा रुघाखोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा हाइपोथर्मियाका बिरामीको सङ्ख्या बढ्ने गरेको छ।
चिसोका कारण स्वास्थ्य समस्या देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा ‘हेलो स्वास्थ्य’ कल सेन्टर १११५ मा फोन गरेर परामर्श लिन मन्त्रालयले आग्रह गरेको छ। जाडोयाममा विशेषगरी बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी जोखिममा रहने मन्त्रालयले जनाएको छ।
यसैबीच, पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्दै गएको वायु प्रदूषणले मुटु, फोक्सो र मस्तिष्कजस्ता अङ्गमा गम्भीर असर पुर्याउने, दम र क्यान्सरजस्ता दीर्घरोगको जोखिम तथा मृत्युदर बढाउने प्रवक्ता डा। बुढाथोकीले बताए।
चिसोबाट जोगिन धुवाँधुलोबाट टाढा रहने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित आहार खाने, भिटामिन ‘सी’ युक्त सुन्तला, कागती र अमलाजस्ता फलफूल सेवन गर्ने, मौसमअनुसारको ताजा सागसब्जी खाने, सरसफाइमा ध्यान दिने र प्रशस्त झोल पदार्थ पिउने गर्न मन्त्रालयले सुझाव दिएको छ।