नारायणगढ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले चितवनको भरतपुर–२९ जुगेडीस्थित ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण तथा अवलोकन गरेका छन्।
निरीक्षणपछि मन्त्री खरेलले औषधि उत्पादन अत्यन्त संवेदनशील क्षेत्र भएकाले उच्च सतर्कता आवश्यक हुने बताउँदै कम्पनीले मापदण्ड पालना गरी व्यवस्थित रूपमा उत्पादन गरिरहेको देखिएको बताए। विभिन्न ५० प्रकारका औषधि उत्पादन भइरहेको थाहा पाउँदा खुशी लागेको उल्लेख गर्दै उनले यस्ता उद्योगले देशलाई औषधिमा आत्मनिर्भर बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले करिब २२ वर्ष युरोपमा आर्जन गरेको अनुभव स्वदेशमै प्रयोग गर्ने उद्देश्यले औषधि उद्योगमा लगानी गरिएको जानकारी दिए। उनका अनुसार कम्पनीमा हाल रु १ अर्ब ५० करोड लगानी रहेको छ।